बेलिना थापा
लमजुङ, माघ २९ गते । चीनमा फैलिएको कोरोना भाइरसका कारण लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण कार्य बन्द भएको छ ।
आयोजनामा कार्यरत चिनियाँ सुपरभाइजर तथा इन्जिनियर प्राविधिक चीनबाट आउन नसक्दा निर्माणकार्य ठप्प भएको आयोजनाले जनाएको छ । जनवरी पहिलो साता नयाँ बर्ष मनाउन चीन गएका उनीहरु चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल आउन सकेका छैनन् । चीनले आफ्ना नागरिकलाई देश वाहिर जान कडाइ गरे पछि यसको असर जलविद्युत निर्माणमा देखिएको आयोजनाका प्रशासकीय अधिकृत बासुदेव गड्तौलाले बताउनुभयो ।
उहाँका अनुसार निर्माण कम्पनीका मुख्य व्यक्तिसहितका प्राविधिक गरी आयोजनामा ६१ जना कार्यरत चिनियाँ कार्यरत छन् । यी मध्ये चार जना चीन गएका थिएनन् । अरु ५७ जना चीन गएकोमा दुई जना मात्रै फर्किन भ्याएको र ५५ जना चीनमै रोकिएको गड्तौलाले बताउनुभयो । ‘उहाँहरु कस्तो अवस्थामा छ भन्ने जानकारी नै भएन । फोन गर्दा भाषा बुझिँदैन’ उहाँले भन्नुभयो, ‘हामीले इमेलमार्फत उहाँहरुको अवस्था बारे बुझ्यौं । चीनले अन्य देशमा नजान भनेपछि उहाँहरु रोकिनुभएको रैछ ।’
मस्र्याङदी गाउँपालिका ६ र ७ बीच भएर बग्ने ङादीखोलामा नर्माणधीन जलविद्युत आयोजनाको काम एक महिनादेखि ठप्प रहेको आयोजनाका जनसम्पर्क अधिकृत बिजय गुरुङले बताउनुभयो ।
चिनियाँका अनुसार जनवरी २५ मा मुख्य चाड हुन्छ । त्यही चाड मनाउन उनीहरु घर गएका हुन् । फेब्रुअरी ४ देखि ६ तारिखसम्म आउनुपर्नेमा उनीहरु नआएको गुरुङले बताउनुभयो । चिनियाँ विदामा गए पछि नेपालीले काम गर्न नसक्ने भएकाले उनीहरुलाई पनि विदा दिइएको उहाँले बताउनुभयो । अगुवाई नै नभएपछि नेपाली कामदारले काम गर्न नसक्ने गुरुङले बताउनुभयो ।
उहाँका अनुसार आयोजनाको ८५ प्रतिशत काम सकिएको छ । प्रसारण लाइनको काम नेपाली ठेकेदारले लिएकाले काम भइरहेको छ । अन्य काम भने हुन सकेको छैन । आयोजनाको सुरुङ निर्माण कार्य सकिएको छ । पावरहाउसको काम सकिएको र मेशीन जडान गर्न बाँकी रहेको उहाँले बताउनुभयो । बाँधको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको निर्माण कार्य चिनिया“ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेशन कम्पनी लिमिटेड गरिरहेको छ ।
उनीहरुकै अगुवाई र सुपरभिजनमा नेपाली कामदारले काम गरिरहेको छ । साविक बाहुनडा“डा र भुलभुले गाविसको सीमा तथा हाल मस्र्याङदी गाउ“पालिका ६ र ७ बीचको ङादीखोलामा उक्त आयोजना निर्माण हुनेछ । वुटवल पावर कम्पनी (बीपीसी) को ९७.२२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनी (लेड्को) को २.७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । करीब चार अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन भए पनि आयोजना निर्माण सक्दासम्म व्याजसहित ६ अर्ब रुपिया“ लाग्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणकार्य रोकिँदा समय लम्बिने र खर्च पनि बढ्ने आयोजनाले अनुमान गरेको छ ।
आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नविल बैंक, ग्लोवल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीको लगानी रहेको छ । २०७३ चैत्र ३० बाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाँइचेमाथि ङादी नदीमा बनाइएको छ । ३ हजार ८ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठुलिबेंसीबाट ताराचोक जाने बाटो ङादी नदी तिरमा बनाइएको विद्युतगृहबाट विद्युत उत्पादन गरिने छ । आयोजनामा २ वटा पेलटन टर्बाइन रहने छ । नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत उत्पादन हुने छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा ४ रुपियाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपियाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ ।
आयोजनाले मस्र्याङ्दी गाउँपालिका ३ खुदी टारीकुनासम्म १३२ के.भी. को साँढे ५ किलोमिटर प्रशारण लाइन निर्माण गरिरहेको छ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणवाट खुदीको टारीकुनामा निर्माण हुने २२० के.भी. को सवस्टेसनमा जडान गरिने छ ।