मुकुन्द गैरे ।
काठमाडौं माघ २९ गते । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा तिर्न अटेर गर्नेको घर जग्गा किनबेचदेखि स्थानीयतहबाट पाउने सुविधाबाट बन्चित गरेसँगै कर्जा उठन थालेको छ ।
कोषका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद गौतमका अनुसार उद्यम गरी स्वरोजगार बन्न लिएको ऋण केहीमा तिर्न पर्दैन पछि मिनाह हुन्छ भन्ने मानसिकता थियो ।
तर कर्जा नतिर्नेलाई स्थानीयतहबाट पाउने सेवा सुविधाबाट बन्चित गर्ने सुरु गरे पछि सामाजिक रुपमा बहिस्कृत हुने डरले हिसाव मिलान गर्न खोज्नेको संख्या बढ्न थाल्यो ।
२०६६ सालदेखि हाल सम्म नौ अर्व ५० करोड रुपियाँ यस अन्तर्गत लगानी भएको छ । जसमा २०७६ असार मसान्तसम्म भाका नागेको खराव कर्जा १८ करोड सात लाखको हाराहारीमा रहेको छ ।
हाल कोषमा ८० करोड रुपियाँ बराबर संचालित बचत रहेको छ । व्यवसाय गरी स्वरोजगार बन्न कोषबाट लिएको ऋण नतिर्न खोज्नेहरू कानुनी कडाई र अनुगमन कार्यलाई तीव्र रुपमा अगाडि बढाईएको कोषले बताएको छ ।
कोषबाट लिएको कर्जा नतिर्ने सहकारी संचालक, पदाधिकारी, लेखा समिति सदस्य र ऋण नतिर्ने व्यक्तिको घरजग्गा किनबेच रोक्का, बिजुली, खाने पानी, लगायत पासपोर्ट बनाउनबाट समेत बन्चित गराउने काम भईरहेको कार्यकारी निर्देशक गौतम बताउनुहुन्छ ।
कोषले भाका नागेका सहकारी संचालक वा व्यक्तिलाई पहिलो पटक कर्जा तिर्नको लागि पत्राचार गर्छ । पत्रपछि पनि अटेर गरे कानुनी प्रक्रिया अगाडि बढाइन्छ ।
। स्वरोजगार बन्न लिएको कर्जा नतिर्ने व्यक्तिको धेरै ठूलो परिमाणमा सम्पति रोक्का गरिदिएको कोषका कानून तथा असुली शाखा प्रमुख लोकबहादुर खड्का बताउनुहुन्छ ।
कर्जा असुली गर्नको लागि कोषले दैनिक एक सय भन्दा बढी पत्र काट्ने गरेको प्रमुख खड्का बताउनुहुन्छ ।
कोषले आ.व २०७३÷ २०७४ देखि स्थानीय तहमा पत्राचार गरी कोषमा बुझाउनुपर्ने रकम नबुझाएका १०१ वटा सहकारी संस्थाका संचालक समिति, लेखा समिति तथा ऋण उपसमितिका १५ सय ५३ जना पदाधीकारी तथा सदस्यहरको सेवासुविधा रोक्काको लागि स्थानीय तहमा पत्राचार गरेको थियो । जस मध्ये १३ वटा सहकारी संस्थाको १९४ जना सहकारीका पदाधिकारी तथा सदस्यहरको सेवासुविधा रोक्का गरिएको कोषले जानकारी दिएको छ ।
पहिला कोषको रकम लगेर नर्तिदा पनि हुन्छ सरकारले मिनाहा गर्छ भन्नेहरू समाजमा बहिस्कृत हुन थाले पछि ऋण तिर्न हतार हतार गरेर आउनेको संख्या बढ्दै गएको असुली शाखा प्रमुख खड्का बताउँनुहुन्छ ।
कर्जा असुली काममा कोषको असुली शाखा, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय बिच समन्वय भइरहेको छ । कोषले सहकारी तथा बैंक मार्फत वेरोजगार यूवालाई स्वरोजगार बनाउने उदेश्यले १० प्रतिशत व्याजमा बिना धितो कर्जा दिदैं आएको छ ।
कोषले पूँजीको अभावमा आफ्नो प्रतिभा र सीपको सदुपयोग गर्न नपाएका १८ वर्षदेखि ५० वर्ष उमेर समूहका युवालाई बिनाधितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको छ ।
२०६५ सालमा स्थापना भएको कोषबाट कर्जा लिएर उद्यमी बनी हाल सम्म ७२ हजार सात सय युवा स्वरोजगार बनेको कोषको भनाई छ ।