गण्डकी प्रदेश पर्यटकीय विकासका दृष्टिकोणले अग्र स्थानमा रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चामा रहेका पर्यटकीयस्थल रहेको गण्डकी प्रदेशलाई समृद्ध बनाउने पहिलो आधारका रूपमा पर्यटनलाई लिइएको छ । गण्डकी प्रदेशले वर्तमानलाई मात्र नहेरी अबको २५ वर्षपछिको के हुन्छ भन्ने आकलन गरेर पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको हो । अहिले गण्डकी प्रदेश कुन अवस्थामा छ भन्ने यकिन गरेर आगामी बाटो तय गरेको गण्डकी प्रदेशले २५ वर्षभित्र प्रदेशमा औसत आयु ८२ वर्ष पु¥याउने महìवाकाङ्क्षी योजना तय गरेको छ । यसै सन्दर्भमा गोरखापत्रका गण्डकी प्रदेश संयोजक चन्द्रप्रकाश शर्माले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलसँग गर्नुभएको कुराकानी ।
समृद्ध गण्डकी प्रदेश निर्माणका लागि के कस्ता योजना अगाडि बढाउनु भएको छ ?
प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । यस अवधिमा गण्डकी प्रदेशले अपेक्षित उपलब्धिमूलक काम गर्दै आएको छ । हामी पहिलो चरणमा गण्डकी प्रदेश कुन अवस्थामा छ भन्ने यकीन तथ्याङ्क निकालेर अगाडि बढेका छौँ । समृद्ध गण्डकी प्रदेश निर्माणका लागि हामी कसरी अगाडि बढ्ने, अहिलेको अवस्था के हो ? पाँच वर्ष, बाह्र वर्ष र २५ वर्षमा हामी कुन स्थानमा हुन्छौँ भन्ने विषय यकीन गरेर दिगो विकास लक्ष्यको आधार तथ्याङ्क प्रतिवेदनसमेत प्रकाशित गरेका छौँ । सोही अनुसार योजना बनाएर अगाडि बढिरहेका छौँ ।
अहिलेको अवस्थामा गण्डकी प्रदेश कुन स्थानमा छ ? आगामी पाँच वर्षमा कुन स्थानमा पुग्छ ?
हामीले तय गरेको पञ्च वर्षीय योजना अनुसार हरेक वर्ष के काम गर्ने भन्ने विषयलाई खण्डीकरण गरेर अगाडि बढेका छौँ । हामीले अहिले योजना बनाउँदा सन् २०३० सम्मको अवस्था के हुन्छ ? भनेरै अध्ययन गरेका छौँ । वि.सं. २०८७ सम्मको मध्यकालीन योजना र वि.सं. २१०० सम्मको दीर्घकालीन योजना बनाएर अगाडि बढेका छौँ । अहिले गण्डकी प्रदेशवासीको प्रतिव्यक्ति आय १०४३ छ यसलाई बढाएर पाँच वर्षमा १९५६, १२ वर्षमा ३७०० र २५ वर्षमा १५००० डलर पु¥याइने छ । अहिले कुल गार्हस्थ्य उत्पादन दुई खर्ब ८८ अर्ब रहेकोमा पाँच वर्षपछि चार खर्ब ८० अर्ब, १२ वर्षमा १५ खर्ब र २५ वर्षमा ३५ खर्ब पुग्ने छ । सडक क्षेत्रमा हाल ९३७ किलोमिटर मात्र कालोपत्रे सडक रहेकोमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा हरेक वर्ष ५०० किलोमिटर सडक कालोपत्रे गर्ने गरी अगाडि बढिरहेका छौँ । प्रदेशमा हाल १४.९१ प्रतिशत जनता निरपेक्ष गरिबी रहेकोमा पाँच वर्षमा सात प्रतिशत, १२ वर्षमा एक प्रतिशत र २५ वर्षमा निरपेक्ष गरिबीको अन्त्य हुनेछ ।
सामाजिक विकासका क्षेत्रमा के कस्ता काम भइरहेका छन् ?
हामी गण्डकी प्रदेशवासीको सरदर आयुलाई कसरी लम्ब्याउने भन्ने योजनामा छौँ । हाल गण्डकी प्रदेशको औसत आयु ७१.७ वर्ष रहेकोमा अबको पाँच वर्षमा ७७ वर्ष र २५ वर्षमा ८२ वर्ष पु¥याउने लक्ष्य लिएका छौँ । त्यसका लागि मानिसको उपयुक्त स्वास्थ्य उपचार, स्वच्छ खानपानको आवश्यकता हुने भएकाले अर्गानिक कृषि उत्पादन तथा सुविधायुक्त अस्पताल निर्माणमा समेत ध्यान दिएका छौँ । यस्तै, अबको दुई वर्षभित्र खानेपानी तथा विद्युत्का क्षेत्रमा गण्डकी प्रदेशले अपेक्षित फड्को मार्ने गरी काम भइरहेको छ ।
दुई वर्षको अवधिमा सबैको घरघरमा खानेपानीको धारा तथा हरेक घरमा विद्युत् सेवा पुगेको हुनेछ । अहिले पनि शिक्षा प्राप्तिका लागि बाहिर जानुपर्ने बाध्यात्मक अवस्था रहेको परिस्थितिलाई ध्यानमा राखी विश्वविद्यालय स्थापनाको प्रक्रिया सुरु भएको छ । सरकारी निकायबाट सञ्चालन हुने शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप बढी हुने भएकाले गण्डकी प्रदेशले राजनीतिक हस्तक्षेपविहीन प्राज्ञिक क्षेत्रका रूपमा विश्वविद्यालय स्थापनाको तयारी सुरु गरिएको हो । यस्तै, स्वास्थ्यतर्फ आफ्नै प्रदेश स्तरीय अस्पताल तथा मुटु, मिर्गौला र क्यान्सरका रोगीहरूले उपचारमा ठूलो कष्ट भोग्नुपर्ने भएकाले गण्डकी प्रदेशभित्रै यस्तो सेवा दिने गरी अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएका छौँ ।
गण्डकी प्रदेशका लगानीको अवस्था कस्तो देख्नु भएको छ ?
गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा ठूलो लगानी भइरहेको छ । यहाँको होटल व्यवसायलगायत ऊर्जा क्षेत्रमा पनि लगानी भइरहेको छ । प्रदेशभित्र ऊर्जा क्षेत्रमा निजी क्षेत्रको करिब दुई खर्ब लगानी छ भने अबको दुई तीन वर्षभित्र थप एक खर्ब लगानी हुने अवस्था रहेको छ । यस प्रदेशमा २० हजार मेगावाट जलविद्युत् तथा पाँच हजार मेगावाट वायु तथा सौर्य ऊर्जाको सम्भावना छ । सोही अनुसार हामीले गण्डकी प्रदेशका तर्फबाट लगानीको वातावरण सिर्जना गर्न गैरआवासीय नेपाल सङ्घ, उद्योगी व्यवसायीहरूसँग छलफल गरिरहेका छौँ ।
गण्डकी प्रदेश सरकारले ८४ वटा स्थानीय तहकै अध्ययन गरेर उद्योग ग्राम स्थापना गर्न योग्य स्थानीय तह कायम गरेका छौँ । हाल ११ वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनाको तयारी भइरहेको छ । हामीले तत्काल चीन र भारत निर्यात गर्ने गरी उत्पादन गर्न नसके पनि आन्तरिक आवश्यकता पूर्ति गर्ने गरी उत्पादन बढाउने गरी विश्वमा चर्चित माइक्रोसफ्ट, विश्व बैङ्कलगायतका प्रतिनिधिहरूसँग बसेर लगानीका विषयमा छलफल गरिरहेका छौँ । यस प्रदेशमा विभिन्न १५ सयभन्दा बढी व्यावसायिक फर्महरूले अध्ययन अवलोकन गरेर गएका छन् । उनीहरूले पनि लगानी गर्न इच्छुक भएकाले प्रदेशले लगानीमैत्री वातावरण सिर्जना गर्न लागि परेको छ ।
योजना बनाउँदा कसरी बनाउने गर्नुभएको छ ?
हामीले योजना बनाउँदा सबैलाई अपनत्व हुने तथा कार्यान्वयनमा सहज हुने गरी तयार गरेका छौँ । हरेक जिल्ला जिल्लामा पुग्ने, प्रदेश समन्वय परिषद्मा आवश्यक छलफल गर्ने गरेका छौँ । यस्तै विभिन्न ७२ सेक्टरका मानिसको सहभागितामा आवश्यक छलफल, आजको गण्डकी प्रदेश र भोलिको गण्डकी प्रदेशका विषयमा तथ्याङ्कमा आधारित भएर योजना बनाएका छौँ । हामीले बनाउने योजनाले भोलिको गण्डकी प्रदेश कस्तो हुने भन्ने स्पष्ट मार्ग निर्देश गर्न सक्ने गरी काम गरेका छौँ ।
सरकारी निकायहरूले बजेट खर्च गर्न सकेनन् भन्ने छ । गण्डकी प्रदेश सरकारको खर्चको अवस्था कस्तो छ ?
चालू आर्थिक वर्षको आधा समय सकिएको छ । यो अवधिसम्म खर्चको दर कम देखिए पनि प्रदेश सरकार मातहतका कार्यालयहरूले बजेट कार्यान्वयनपूर्व गर्नुपर्ने काम सकिएका छन् । ठूला योजनाको छनोट, डीपीआरलगायतका काम सकेपछि टेन्डर प्रक्रियासमेत सकिएका छन् । हामीले चार–चार महिनामा त्यसको समीक्षासमेत गर्ने गरेका छौँ । पहिलो चौमासिकमा खर्चको दर कम भए पनि दोस्रो चौमासिकसम्म कुल बजेटको आधार रकम खर्च हुनेछ । ठेक्का प्रक्रियाबाट धेरै काम हुने भएकाले प्रदेश सरकारले विनियोजन गरेको बजेटको शतप्रतिशत बजेट खर्च हुने अवस्था रहँदैन । सम्भवतः चैतपछि धेरै काम सकिएपछि पैसाको अभाव हुने भएकाले सङ्घीय सरकारसँग दुई अर्ब रुपियाँ समपूरक कोषबाट माग गरेका छौँ ।