logo
२०८१ मंसिर ११ मंगलवार



हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

अर्थ |


हजार रुपियाँको लगानी दस वर्षमा करोडपति


तारा चापागाईं दुवे

कास्की, फागुन ५ गते । एक दशकअघि हजार रुपियाँको लगानीबाट व्यवसाय सुरु गर्नुभएका व्यक्ति करोडौँ रुपियाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो, २०५७ सालमा मकवानपुरबाट पोखरा आएर व्यवसाय थाल्नुभएका दीपक तिमिल्सिना आफ्नो पसिनाको कमाइबाट करोडौँको मालिक बन्नुभएको छ । पश्चिम नेपालका ग्रामीण क्षेत्रबाट दाल, गेडागुडीलगायतका कृषि उत्पादन ल्याएर जानकी एग्रो प्रोडक्ट उद्योग सञ्चालन गर्नु भएका तिमिल्सिनाको अनुभवले कुनै पनि पेसा, व्यवसायमा मिहिनेत र निरन्तरता दिए सफलता सहजै हात पार्न सकिन्छ ।
आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले रुकुम, रोल्पा, सल्यान, दाङ, पर्वतजस्ता जिल्लाहरूमा कृषि उत्पादनमा ल्याएर बजारसम्म पु¥याउने काम गर्नुभएका उहाँले भन्नुभयो, पश्चिम नेपालका दुर्गम ठाउँका किसानसँग उत्पादन थियो तर बजार थिएन, मैले बजार खोज्ने काम गरँे, किसानले पनि मूल्य पाए, मैले पनि आर्थिक प्रगति गरेँ ।
व्यवसाय सुरु गर्दाको अवस्थाबाट अहिलेको स्थितिमा उहाँको व्यावसायिक लगानी १८ करोड बराबरको भएको तिमिल्सिनाले बताउनुभयो । जानकी एग्रोतिर सात करोड र फार्ममा ११ करोड रुपियाँको लगानी छ । तिमिल्सिना दम्पतीको मिहिनेतले अचेल पोखरामा उहाँको ब्रान्ड राम्रै ब्रान्ड बन्न सफल भएको छ । उहाँकी श्रीमती जानकी तिमिल्सिनाले भन्नुभयो, पोखरामा टिकेर बसेका कारणले नै सबैले पत्याउने भएका छौँ, गाउँघरमा फल्ने अर्गानिक कृषि उत्पादन सहरमा माग भएकाले यस व्यवसायमा हामीलाई सफलता मिलेको हो ।
उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, गरिबले मात्रै कोदो, मकै खान्छन् भन्ने मान्यता थियो । कोदो, मकै गाउँमा खरिद गर्न जाँदा किसानले हामीले किनेर कता लिन्छन् होला भन्थे । गाउँघरमा हामीले कुरा गर्दा विश्वास पनि गर्दैनथ्ये तर अहिले तिनै उत्पादनलाई हामीले बजारमा बस्ने पढेलेखेका व्यक्तिको खाने आहार बनाउन सफल भयौँ । जानकी प्रोडक्टले गाउँबाट ल्याएको उत्पादनलाई सीधै बजारमा पठाउने नभई त्यसलाई प्रशोधित गरेर ब्रान्डका रूपमा बिक्री वितरण गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, सुरुवातीका दिनमा बोरामा २०० किलो ल्याएर प्याकिङ गर्न निकै गाह्रो हुन्थ्यो । अहिले गाडीका गाडी मालसामान आउने गरेका छन् । सबै प्याकिङ गरेर बिक्री गर्ने गरेका छौँ ।
उहाँको दाबी छ, जानकी एग्रोका सबै उत्पादन शतप्रतिशत हाइजेनिक हुने गरेका छन् । हामी किसानलाई विषादीरहित उत्पादन गर्न आग्रह गर्छौं, कलर पोलिस नगरी नेचुरल बेच्छौँ, मूल्यमा दुई÷चार रुपियाँ बढी भए पनि अर्गानिक उत्पादन दिन्छौँ । हाम्रो आफ्नो ब्रान्ड बनेको छ, मूल्यका कुरालाई लिएर कसैले पनि गुनासो गरेका छैनन् ।
श्रीमान् र श्रीमती मिलेर सुरु गरेको व्यवसायले हाल ५३ जनालाई रोजगारी दिएको छ । जानकी एग्रो प्रोडक्टसँगै एग्रो फार्म पनि सञ्चालन गर्नुभएका तिमिल्सिनाले भन्नुभयो, मैले दुधालु गाईभैँसी पनि पालेको छँु । पोखराको चाउथे र विजयपुरमा ३२ रोपनी जग्गा भाडामा लिएर गाईभैँसी पालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका तिमिल्सिनाले २५६ वटा भैँसी र २१ वटा गाईबाट दिनको एक हजार २०० लिटर दूध उत्पादन हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार दूध बेच्न पनि गाह्रो छैन । स्थानीयका सबै घरमा उहाँको फार्मबाट दूध जाने गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?