सिराज खान ।
नेपालगञ्ज, फागुन ५ गते । औद्योगिक हब बन्दै गएको बाँकेमा एकपछि अर्को गरेर ठुला ठुला उद्योगहरु खुल्ने क्रम जारी छ । सो क्रममा पश्चिम नेपालमै सबैभन्दा बढी लगानी भएको डेरी उद्योग नेपालगञ्जमा सञ्चालनमा आएको छ ।
नेपालगञ्ज–२२, पुरैनीमा नौ करोड रुपैयाँको लगानीमा ‘एसके डेरी इण्डस्ट्रिज प्रालि’ सोमवारबाट सञ्चालनमा ल्याईएको छ । बाँकेको व्यवसायिक क्षेत्रमा पहिलेदेखिनै सक्रिय रहनु भएका सरोज पाण्डेले सो उद्योग सञ्चालनमा ल्याउनु भएको हो ।
सोमवार यहाँ आयोजना गरिएको एक कार्यक्रमका विच प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सो उद्योगको उदघाटन गर्नुभयो । उक्त अवसरमा बोल्दै उहाँले प्रदेश पाँचमा कृषि उत्पादनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भयो । उहाँले कृषि उत्पादनलाई बढाएर किसानहरुको जिवनस्तर उकास्न सरकारले किसानलाई धेरै अनुदान दिएको बताउनु भयो ।
उहाँले कृषि, पर्यटन र उद्योगको हब मानिने प्रदेश पाँचमा सरकारले किसानहरुका लागि धेरै कार्यक्रम र योजनाहरु सञ्चालनमा ल्याएको पनि सो अवसरमा बताउनु भयो । सानो समयमै प्रदेशले आर्थिक विकासमा ठुलो फड्को मारेको जनाउँदै देशकै समग्र आर्थिक बृद्धिदर भन्दा प्रदेशको आर्थिक बृद्धिदर बढी भएको उहाँले बताउनु भयो ।
प्रदेश पाँचमा कृषि उत्पादन र कृषिसंग सम्बन्धित उद्योगहरुको भविष्य निकै राम्रो रहेको जनाउँदै मुख्यमन्त्री पोखरेलले सरकारले बाँके र बर्दियालाई औद्योगिक हब र कृषि उत्पादनको पकेट क्षेत्र बनाउन खोजेको बताउनु भयो ।
सो अवसरमा प्रदेश पाँचका भूमिसुधार, सहकारी र कृषि मन्त्री आरती पौडेलको पनि उपस्थिति रहेको थियो ।
साढे पाँच कठ्ठा जग्गामा स्थापना भएको सो डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योगका संचालक सरोज पाण्डेले जानकारी दिनुभयो ।
‘यसका लागि बर्दियास्थित भगवती डेरीसंग सहकार्य गरिएको छ ।’–पाण्डेले भन्नुभयो,‘उद्योगमा भारतका एचएमटी र गोमा कम्पनीका प्लान्ट लगाइएको छ । ‘नेपालगञ्जमा गुणस्तरीय दुग्ध पदार्थ विक्री गर्छौ । दूधको गुणस्तरमा कुनै समस्या नआओस् भनेर उच्च्स्तरीय मेशनरी सामाग्रीको प्रयोग गरेका छौं ।’ एसके डेरी उद्योगले रोयल च्वाइस ब्राण्डमा दूधका उत्पादन बजारमा ल्याएको छ । सो उद्योगबाट दूधका अतिरिक्त पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम उत्पादन हुनेछ ।
‘हामी दूध मात्रै होइन अन्य वस्तु समेत उत्पादन गर्नेछौ,’ पाण्डेले भन्नुभयोे, ‘प्रदेश ५ र ६ मा अहिले भारतबाट आयात भएर आउने दुग्ध पदार्थ बिक्री भइरहेको छ । हाम्रो उद्देश्य ती आयातित वस्तु प्रतिस्थापन गर्नु पनि हो ।’ सञ्चालक पाण्डेका अनुसार उद्योगका लागि आवश्यक कच्चा दूध संकलनमा पनि विशेष ध्यान दिईएको छ । दूध संकलन गर्नु अघि त्यहाँका किसानलाई विशेष जनचेतना जगाउने कार्यक्रम पनि गरिरहेको उहाँले बताउनु भयो ।