logo
२०८१ मंसिर ९ आईतवार



बढ्दै होमस्टे : वर्षमा ६० हजार पर्यटक

अर्थ |
पर्यटन |


बढ्दै होमस्टे : वर्षमा ६० हजार पर्यटक


नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, फागुन ६ गते । प्रदेश ५ का विभिन्न जिल्लामा सामुदायिक र निजी घरबास (होमस्टे) खुल्ने क्रम बढेको छ । होमस्टेप्रति आन्तरिक र बाह्य दुवै प्रकारका पर्यटकको आकर्षण बढ्दै गएकाले होमस्टे खुल्ने क्रम बढेको होमस्टे एसोसिएसनले जनाएको छ ।
होमस्टे एसोसिएसन प्रदेश ५ का सचिव कृष्णलाल चौधरीका अनुसार होमस्टेप्रति पर्यटकको आकर्षण देखेर प्रदेशमा होमस्टे खुल्ने क्रम बढ्दै गएको छ । हाल प्रदेश ५ मा ४५ वटा होमस्टे सञ्चालनमा छन् । तीमध्ये ३२ वटा सामुदायिक र १३ वटा निजी होमस्टे रहेको जनाउँदै सचिव चौधरीले तिनमा करिब तीन सय परिवारले प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो ।
सचिव चौधरीका अनुसार बर्दियामा छ सामुदायिक र दुई निजी, बाँकेमा तीन सामुदायिक र चार निजी, दाङमा आठ सामुदायिक, प्यूठानमा चार सामुदायिक, गुल्मीमा चार सामुदायिक, पाल्पामा चार सामुदायिक र पाँच निजी, रोल्पामा दुई सामुदायिक, कपलिवस्तुमा एक सामुदायिक, रुकुम र रुपन्देहीमा एक÷एक निजी होमस्टे सञ्चालनमा रहेका छन् । सामुदायिक होमस्टे चलाउन कम्तीमा पाँच घर मिल्नुपर्ने व्यवस्था छ ।
ती होमस्टेहरूले वर्षमा ६० हजार पर्यटकलाई सेवा दिँदै आएको जनाउँदै चौधरीले नेपाल भ्रमण वर्ष मनाइरहेको हुँदा यस वर्ष करिब ८० हजार पर्यटक भिœयाउने लक्ष्य रहेको बताउनुभयो ।
बाँके, बर्दिया र पाल्पा जिल्लामा व्यवस्थित होमस्टे सञ्चालनमा रहेको होमस्टे एसोसिएसनले जनाएको छ । सरकारले पर्यटनका लागि घोषणा गरेका सय गन्तव्य क्षेत्रमा यी जिल्लाका होमस्टे समेटिएका छन् ।
सरकारले सन् २०११ मा कार्यविधि बनाएपछि नेपालमा होमस्टे सञ्चालनमा आएको जानकारी गराउँदै सचिव चौधरीले कार्यविधिमा होमस्टेलाई जीविकोपार्जनको माध्यम भनिएको बताउनुभयो । तर होमस्टेलाई जीविकोपार्जनका रूपमा नभई आयआर्जनको माध्यमका रूपमा अघि सार्नुपर्ने लबिङ आफूहरूले सुरु गरेको चौधरीको भनाइ छ ।
स्थानीय संस्कृति र प्रकृतिको आनन्द लिन पर्यटक होमस्टेमा जाने गरेका छन् । होमस्टेहरूले पर्यटकलाई सांस्कृतिक कार्यक्रम, जङ्गल ट्रेक, इको ट्रेक, परम्परागत जीवनशैली र सङ्ग्रहालयको अवलोकन गराउने गरेका छन् ।
बाँके र बर्दिया निकुञ्ज आसपासमा रहेका होमस्टेमा आउने पर्यटक जङ्गल सफारीमा गएर बाघ, हात्ती, गैँडा, चौकालगायत संरक्षित जनावर हेर्ने गर्छन् । बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघ, हात्ती, चौका, हुँडार, सालक, नीलगाई, चितुवा, चित्तल, लगुना, रतुवा, बँदेल, बाँदर, सुन गोहोरो, अजिङ्गर, राजधनेशलगायत विभिन्न किसिमका चरा हेर्न पाइन्छ ।
बाँकेबाट प्रदेश सांसद आईपी खरेलले होमस्टेहरू रोजगार, स्वरोजगार मात्रै नभई सामुदायिक उद्योगका रूपमा विकास भएकाले यसलाई बढावा गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले होमस्टेको विकासले धेरैलाई स्वरोजगार बनाएको बताउनुभयो ।
यस्तै, बैजनाथ गाउँपालिकाका प्रमुख मानबहादुर रुचालले गाभर भ्यालीलाई उत्कृष्ट गन्तव्य बनाउन गाउँपालिका लागि परेको जनाउँदै त्यहाँ रहेका हामेस्टेको विकासका लागि पनि विभिन्न योजना बनाइएको बताउनुभयो ।
होमस्टे एसोसिएसन प्रदेश ५ ले अब होमस्टेलाई वर्गीकरण गरेर अघि बढ्न जरुरी रहेको जनाएको छ । होमस्टेलाई सेवा सुविधाका आधारमा वर्गीकरण गरेर अघि बढ्न जरुरी भइसकेको सचिव चौधरीले बताउनुभयो ।
उहाँले होमस्टे भन्ने बित्तिकै सबैको हेराई एकै प्रकारको रहेकाले सेवा सुविधाका आधारमा वर्गीकरण गरेर अघि बढ्न जरुरी रहेको जनाउँदै होमस्टेलाई क, ख, ग, र घ मा वर्गीकरण गरेर नै अघि बढ्नुपर्ने बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?