तारा चापागाईं दुवे
कास्की, फागुन ९ गते । स्थानीय कफीमा नयाँ किसिमको समस्या देखिएको छ । सुरुमा पात ओइलाउने, फल हरियोमै झर्ने, हाँगोको टुप्पोबाट सुकेर मर्दै जाने र दाना बोटमै सुक्ने समस्या देखिएसँगै कास्कीका किसान चिन्तित छन् ।
गत माघ १५ गतेदेखि कफी खेतीमा यस्तो समस्या देखिएको किसनले बताएका छन् । समस्या देखिएका स्थानमा सरोकारवालहरूले अनुगमनसमेत गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ मा लगाइएको कफीमा यो समस्या धेरै आएको बताइएको छ । अन्नपूर्ण गाउँपालिकास्थित माछापुच्छ«े उत्तम कफी सहकारीका अध्यक्ष कुलाधर भुगाइले महामारीका रूपमा आएको यस रोगका कारण किसान समस्यामा परेको बताउनुभयो । चीनमा भाइसर आएजस्तै नेपालमा पनि कफी भाइरस आएको भान किसानलाई भएको भन्दै धेरै स्थानबाट यस समस्यालाई लिएर आफूलाई फोन आइरहेको उहाँले बताउनुभयो । लागेको फल रातो भएर पाक्छ भनी बसेका किसान फल पाक्नुको साटो बोट नै सुक्ने र फल सेतो हुँदै सुक्न थालेपछि समस्यामा परेका हुन् ।
वडामा ६१० रोपनी क्षेत्रफलमा कफी खेती हुने गरेको छ । २०६३ सालमा संस्था गठन गरी सुरुमा ६१ हजार पाँच सय बिरुवा लगाइएको थियो । कफी लगाउन सुरु गरेको करिब १३ वर्षको अवधिमा पहिलोपटक यो समस्या देखिएकोे उहाँको भनाइ छ ।
गत वर्ष २० हजार र यो वर्ष ३० हजार बिरुवा रोपेको र राम्रो उत्पादनको अपेक्षामा रहेका किसानलाई रुवावासी पारेको भनाइ उहाँको छ । ठूला बोटसहित साना बिरुवा पनि खत्तम भएको र बीमा गर्न पनि समस्या रहेको उहाँको भनाइ छ । कफी बीमा गर्न जाँदा पाँच सय बगान हुनुपर्ने भनेपछि बीमा नै नगरी फर्किएको भुगाइ बताउनुहुन्छ ।
बागवानी अनुसन्धान केन्द्र पोखराका प्रमुख युवराज भुसालले यो समस्या कास्कीमा मात्र नभई अन्य जिल्लामा पनि देखिएको भन्दै यस वर्ष बढी चिसो भएका कारण यस्तो भएको हुनसक्ने बताउनुभयो । बिहान बेलुकीमा एकदमै चिसो र दिउँसोमा तातो हुने भएकाले कफीका लागि वातावरण अनुकूल बन्न नसक्दा यस्तो हुन गएको हुनसक्ने अनुमान गर्दै भुसालले जरा सुक्खा भएको ठाउँमा पानी दिने र सुकेका बोटहरू विस्तारै पलाउँदै जान सक्ने बताउनुभयो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखरा कार्यालयका प्रमुख चन्द्र पुरीले कफीको फरक फरक जात लगाएका कारण पनि यस्तो समस्या आएको हुनसक्ने अनुमान गर्नुभयो । पहिला यस्तो समस्या नदेखिएकोले के कारणले यस्तो भयो अनुसन्धान भइरहेको जानकारी दिँदै यस वर्ष नौ लाख किलो चेरी उत्पादन हुनुपर्नेमा ४० प्रतिशत उत्पादन घट्ने बताउनुभयो ।
देखिएको समस्याका कारण कफी सङ्कट वर्ष नै घोषणा गर्नुपर्ने बताउँदै पुरीले कास्कीसँगै स्याङ्जा, पाल्पा, तनहुँ गोरखा, लमजुङ, सिन्धुपाल्चोक, ललितपुरलगायत पूर्वी क्षेत्रमा यो समस्या देखिएको जानकारी दिनुभयो ।
जिल्ला कफी सहकारी सङ्घ कास्कीका अध्यक्ष आन्नद सुवेदीले कास्कीमा थुप्रै ठाउँमा कफी मर्ने समस्याले किसानलाई हतोत्साही बनाएको बताउनुभयो । समस्या समाधान वा किसानलाई राहत उपलब्ध गराउनुपर्ने सुवेदीको माग छ ।
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अधिकृत सागर घिमिरेले तत्काल यस्तो समस्याका लागि आकस्मिक सेवाअन्तर्गत बढीमा १० रोपनीमा भएको ठाउँमा पुनस्र्थापनाका लागि क्षति भएका बिरुवा उपलब्ध गराउन सक्ने जानकारी दिनुभयो ।
कृषि विकास निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत किरण सिग्देलले कफी रैथाने नभई आयातित बाली भएकाले यो नितान्त नौलो विषय रहेको भन्दै समस्या पहिचान गर्न नसकिएको बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्षले गाउँमा आएको यो समस्याबाट धेरै कफी कृषक प्रभावित हुन पुगेकोले छिटै समस्याको समाधानका लागि अनुगमन टोलीहरूलाई आग्रह गर्नुभयो ।