राजन रावत
सिमकोट, फागुन १० गते । मानसरोवर कैलाशका लागि पर्यटकीय रुटका रुपमा पहिचान बनाएको हिल्साका होटेल व्यवसायी चीनमा फैलिएको नोबेल कोरोना भाईरसको कारण आगामी पर्यटकीय सिजन कस्तो हुने हो भन्दै चिन्तित भएका छन् । हिउँदे समय हिल्सा बजार हेरालुको भरमा रहँदै आएको भए पनि आगामी वैशाख महिनाबाट सिजन शुरु हुने भएपछि होटेल व्यवसायी चिन्तित हुन थालेका हुन् ।
हिल्साका होटेल व्यवसायी कर्मा लामाका अनुसार आधा दर्जन पर्यटकीय होटेलसहित असी घरधुरी रहेको हिल्सा बजार पाँचजना हेरालुको भरमा रहँदै आएको र हिल्सामा आगामी वैशाखबाट सिजन हुने भए पनि अब के हुन्छ भन्ने चिन्ताले पिरोल्न थालेको बताउनुभयो ।
हिउँदे सिजनमा जहिले पनि हेरालुकै भरमा हिल्सामा रहेका होटेलहरु राख्नुपर्ने भए पनि यसपाली चीनमा फैलिएको नोबेल कोरोना भाईरसको कारण अब कसरी हेरालुलाई राख्ने भन्ने चिन्ता थपिएको छ । हिउँदे समयमा व्यापार व्यवसाय नहुने भएपछि होटेल कुर्नको लागि हेरालु राख्ने गरिन्छ ।
हिल्साका होटेलहरुमा वैशाख तेस्रो सातापछि मानसरोवर कैलाशको सिजन शुरु हुने भएपछि भ्याई नभ्याई हुने गरेको थियो । तर, यसपाली भाईरसका कारण के हुने हो यसै भन्न सकिने अवस्था नभएको बताइएको छ । हिल्सा हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने पक्का भएको भए पनि भाईरसकै कारण अब के हुन्छ ? केही भन्न सकिने अवस्था नभएको पर्यटन व्यवसायी रिन्जिन लामाले बताउनुभयो ।
गत तीन वर्षदेखि हिल्सा नाका हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय धार्मिक पर्यटकको संख्या तीस हजार भन्दा बढी रहेको थियो । मानसरोवर कैलाशको सिजनमा हुम्लामा मात्र १५ करोड रुपियाँ भन्दा बढी कमाई हुने गरेको छ ।