logo
२०८१ मंसिर १२ बुधवार



नलगाड प्रभावितलाई केही दिनमा नै मुआब्जा वितरण थालिने

अर्थ |


नलगाड प्रभावितलाई केही दिनमा नै मुआब्जा वितरण थालिने
नलगाड जलविद्युत आयोजनाबाट प्रभावित हुने जाजरकोटको बारेकोटको सेपुखोला क्षेत्र ।


सहदेब बस्नेत
खलङ्गा, फागुन १७ गते । जाजरकोटको नलगाड जलविद्युत आयोजनाको मुआब्जा बापत यहाँका स्थानीयले झण्डै तीन अर्ब रुपियाँ पाउने भएका छन् । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले जिल्ला प्रशासन कार्यालयमार्फत अधिग्रहण गरिने जग्गाको मुआब्जा दुई अर्ब ७३ करोड रकम पाउने भएका हुन् । अबको केही दिनभित्रै मुआब्जा वितरण गर्ने तयारी थालिएको छ ।
कर्णाली प्रदेशकै महत्वपूर्ण आयोजनाको रुपमा हेरिएको ४१७ मेगावाट क्षमताको यस जलविद्युत योजनाको डीपीआरको काम आगामी असार मसान्तभित्रै सम्पन्न हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जग्गा प्राप्ति ऐन–२०३४ को दफा १३ (२) बमोजिम यही फागुन ५ गते बसेको मूल्य निर्धारण समितिको बैठकबाट प्रतिरोपनी ६ लाख मूल्य निर्धारण गरिएको बताउनुभयो । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका साइड इन्चार्ज इन्जिनियर पदम थापाले जग्गा प्राप्ति ऐन–२०३४ को दफा १८ (१) को प्रयोजनको लागि फागुन ७ गतेको गोरखापत्रमा सूचनामा प्रकाशित विवरण अनुसारका व्यक्तिहरुले मुआव्जा रकम पाउने जानकारी दिनुभयो । उक्त सूचनाप्रति चित्त नबुझे सोही दफा १८ (२) बमोजिम आफ्नो दाबीको आधारमा प्रमाणसहित १५ दिनभित्र गृह मन्त्रालयमा उजुरी गर्न सकिने कानुनी प्राबधान रहेको छ ।
प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार आयोजनाबाट प्रभावित बारेकोट गाउँपालिका १, २, ५, ६, ७, ८ र ९ का तीन हजार ९३३ जनाले मुआव्जा वापतको रकम प्राप्त गर्नेछन् । चार हजार ६५० रोपनी जग्गाको मुआब्जा वितरणको काम केही दिनभित्रै शुरुवात गरिने छ । प्रतिरोपनी ६ लाख रुपैयाँका दरले मुआब्जा पाउनेछन । रकम वितरणको लागि गरेको १५ दिने सूचनाको म्याद यही फागुन २२ गतेसम्म रहेको छ ।
बारेकोट सेपुखोलाका स्थानीय अमरबहादुर सिंहले यति ठूलो मात्रामा मुआव्जा रकम पाउने भएपछि यहाँका स्थानीयहरु आयोजना बन्नेमा ढुक्क भएको बताउनुभयो । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले लिएका छन् ।
केही महिना अघिमात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)लाई आग्रह गरेको थियो । जापानी व्यवसायी एवं जाइकाले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि इच्छासमेत देखाएको छ । आयोजना निर्माणका लागि १२३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
वातावरणीय व्यवस्थापनको अनुमानित लागत ५६ अर्ब रुपैयाँ लाग्ने आयोजनाले बताएको छ । साढे ६ वर्ष भित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाको बाँध भरिदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । यो समुद्र सतहदेखि एक हजार ५८० मिटरको उचाइमा पुग्नेछ । 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?