नेत्र शाही
खलङ्गा, फागुन १९ गते । जुम्ला चन्दननाथ नगरपालिका वडा नं ७ का कमला बुढा हरेक विहान कार्यालय समयमा खाम फाइल उद्योगतिर लाग्नुहुन्छ । एक वर्षदेखि उहाँ जस्तै अन्य साथीहरु पनि खाम फाइल निर्माणमा व्यस्त हुनुहुन्छ ।
जुम्लामा अपाङ्गता भएका व्यक्तिहरुले सञ्चालन गरेको खाम फाइल उद्योग अहिले जिल्लाकै उत्कृष्ट उद्योगको रुपमा संचालन भइरहेको छ । उहाँहरुले एक वर्षदेखि धमाधम सादा खाम तथा फाइलहरु बनाइरहनु भएको छ । उद्योगमा अहिले पाँचहजार बढी फाइल निर्माण भइसकेका छन् । उद्योगका संचालक कमला बुढाले उद्योगमा हजारौं खामहरु तयार भएको बताउनुभयो । उहाँका अनुसार करिब एक लाखको खाम तथा फाइल उत्पादन गरिएको छ ।
वि.सं २०७४ सालमा घरेलु तथा साना उद्योग विकास समिति र अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रको समन्वयमा २० जना अपाङ्गता भएका व्यक्तिहरुले तालिम लिनुभएको थियो । सो तालिमबाट सीप सिकेपछि उहाँहरु मध्ये छजना अहिले उद्योगमा काम गरिरहन्भएको छ ।
सामाजिक विकास मन्त्रालयले चार लाख ९५ हजार रुपियाँ तालिम र सामग्रीका लागि सहयोग गरेको थियो । अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले सोही सहयोगमा सीप सिकेर आफैं खाम फाइल उत्पादन गर्ने प्रयास गरिरहेको जानकारी दिनुभयो ।
केन्द्रले खाम फाइलका लागि अपाङ्गता भएका व्यक्तिका नाममा दुई वटा उद्योग समेत दर्ता गरिदिएको छ । एक बर्ष अघि घरेलु तथा साना उद्योग विकास समितिमा सवलता र पुनस्र्थापना दुईवटा उद्योग दर्ता गरिएका छन् । त्यहींबाटै अहिले जुम्लाको सदरमुकाम टँुडिखेलमा भाडाको घरमा उद्योग संचालन भइरहेको हो ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले सानो लगानीमा उत्कृष्ट काम गरेकोमा खुशी व्यक्त गर्नुभयो । अपाङ्गता भएका व्यक्तिहरुले गरेको काम अन्य भन्दा उत्कृष्ट भएको सुन्न पाउदा खुशी लागेको भन्दै उहाँले राम्रो कामको लागि प्रदेश सरकारले प्रोत्साहन गर्ने जानकारी दिनुभयो ।
उत्पादनको समय भएकाले धेरैले उद्योग सफल बनाउनका लागि स्वय्मसेवकको रुपमा काम गरिरहनुभएको छ । अपाङ्गता भएका व्यक्ति पुतली महताराले अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित उद्योग फष्टाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उद्योग संचालक कमला बुढाले कच्चा पदार्थको अभाव रहेको जानकारी दिनुभयो । अझंै कच्चा पदार्थका लागि आर्थिक सहयोगको आवश्यकता रहेको र सामाजिक विकास कार्यालयमा माग गरिएको उहाँको भनाइ छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले अपाङ्गता भएका व्यक्तिले संचालन गरेको प्रेरणादायी कामलाई थप सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।