गाईघाट समाचारदाता
गाईघाट, फागुन २३ गते । घरै छेउमा ढुवानीका साधनहरू पुगेर माल उठाउन थालेपछि सिन्कौली अर्थात् तेजपात खेती गर्दै आएका उदयपुर जिल्लाको पहाडी क्षेत्रका किसान थप उत्साहित बनेका छन् ।
सडक यातायातका अभावमा बजारसम्म ढुवानी गर्न नसक्दा पहाडी क्षेत्रका कतिपय किसानले उत्पादन गरेको तेजपात विगतमा त्यसै सडेर खेर जाने गरेकोमा यस वर्षदेखि ढुवानीका साधनले आफ्नै आँगनबाट माल लोड गर्न थालेपछि किसानमा उत्साह जागेको छ ।
जिल्लाको बाँस्बोटे, ताम्लिछा, बलम्तालगायतका गाउँका किसानले उत्पादन गरेको तेजपातले यस वर्षदेखि राम्रो भाउ पाएको छ । घर आँगनमै ट्रक, ट्याक्टर लगायतका ढुवानी गर्ने मालवाहक सवारीका साधन लिएर व्यापारीहरू तेजपात किन्न घरघरै आउन थालेपछि विगतमा त्यसै सडेर खेर जाने गरेको तेजपातबाट आपूmहरूले यस वर्ष राम्रो दाम कमाउन सफल भएको किसान बताउँछन् ।
उदयपुरको पहाडी क्षेत्रका किसानको प्रमुख नगदे बालीका रूपमा रहेको तेजपात बिक्री हुन नसक्ता अघिल्लो वर्षसम्म किसान चिन्तित हुन्थे तर स्थानीय सरकार गठन भएपछि पहाडका सबैजसो गाउँ जोड्ने गरी आन्तरिक सडक सञ्जालको विकास भएसँगै तेजपात लगायत दुर्गमका किसानले उत्पादन गरेको चिजबिजले तराईका बजारमा भाउ पाउन थालेको हो ।
जिल्लाको रौतामाई, ताप्ली, सुनकोसी र उदयपुरगढी गाउँपालिकाका किसानको प्रमुख आम्दानीको माध्यम बनेको तेजपात विभिन्न सङ्कलन केन्द्रमार्फत भारतीय बजारमा निर्यात हुने गरेको र यस वर्ष त्यसतर्फ राम्रो निकासी भएकोले यहाँका किसानले फाइदा लिन सफल भएको थापा जडीबुटी केन्द्र मुर्कुचीका प्रोप्राइटर भरत थापा बताउनु हुन्छ ।
अघिल्लो वर्ष प्रतिकेजी २४ रुपियाँसम्ममा बिक्री भएको डाँठरहित तेजपात यो वर्ष प्रतिकेजी ४० रुपियाँमा बिक्री हुँदै आएको छ । हरियो डाले घाँसका रूपमा उत्पादन हुने तेजपातको असोज महिनादेखि जेठसम्म कटिङ गरिने छ । उदयपुरमा प्रतिवर्ष करिब २० मेट्रिक टनको हाराहारीमा तेजपात उत्पादन हुँदै आएको र यसबाट दुर्गमका किसानको आर्थिक स्थितिले ठूलो फड्को मारेको उहाँले बताउनुभयो ।
रौतामाई गाउँपालिका वडा नं. १ आँपटारका किसान कमलबहादुर राईले भन्नुभयो, “विगतमा जङ्गलमा प्राकृतिक रूपमा उम्रिएको तेजपातलाई व्यावसायीकरण गर्दै अहिले प्रत्येक किसानले आफ्नो बारीमा रोपेको र यसअघि परम्परागत रूपमा सङ्कलन गरी बिक्री गर्दै आएका किसानले यस वर्षदेखि पातको गुणस्तर निर्धारण गरी व्यवस्थित रूपमा बिक्री गरिरहेका छन् ।”
लिमचुङबुङ गाउँपालिका वडा नं. ५ बाँसबोटेका अर्का किसान विरिमकुमारी राईका अनुसार त्यस क्षेत्रमा जडीबुटी र मसलाका लागि बहुउपयोगी मानिने विश्वकै सबैभन्दा उत्तम ‘सिनामोमन तमला’ जातको तेजपातसमेत पाइने भएकोले र यसको मूल्यसमेत राम्रो हुने गरेको छ । गाउँका किसान यो प्रजातिको तेजपातको व्यावसायिक खेतिप्रति आकर्षित भई बारीका कान्ला तथा खरबारीमा तेजपातै तेजपातका बोट लगाएर वर्षंैपिच्छे नगद हातपार्दै आएको उहाँको भनाइ छ ।
इसिमोड नेपाल र सामुदायिक वन उपभोक्ता महासङ्घ उदयपुरको प्राविधिक सहयोगपछि किसानले नौ वर्षदेखि आफैँले नर्सरी निर्माण गरी बिरुवा उत्पादनसमेत गर्न थालेका छन् । एउटा हुर्किएको बिरुवाबाट १३÷१४ वर्षसम्म आम्दानी लिन सकिने भएकाले पहाडि क्षेत्रका किसानले तेजपातलाई प्रमुख नगदेबालीका रूपमा खेती गर्दै आएको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत जागेश्वर साहले बताउनुभयो ।