राधा चालिसे
काठमाडौँ, फागुन २३ गते । सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको अवस्थामा नेपाल राष्ट्र बैङ्कले नेपाली नागरिकसँग भएको सुन बैङ्कहरूमा निक्षेपको रूपमा लिने विषयमा निर्देशन जारी गरेको छ । केन्द्रीय बैङ्कले बिहीबार जारी गरेको निर्देशिका अनुसार क वर्गका वाणिज्य बैङ्कहरूले नेपाली नागरिकसँग रहेको सुनलाई निक्षेपको रूपमा स्वीकार गर्न सक्नेछन् ।
सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा यस्तो व्यवस्था गर्ने घोषणा गरेको थियो । त्यसका लागि वाणिज्य बैङ्कहरूले सुन निक्षेप लिने सम्बन्धमा नीति तथा विस्तृत कार्यविधि बनाएर सञ्चालक समितिबाट पारित गराई लागू गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।
बैङ्कहरूले सुन निक्षेप लिँदा उपलब्ध सुनको शुद्धता तथा तौलको जाँँच गर्ने संयन्त्र स्थापना गरेर ९९.५ प्रतिशत शुद्धताको मात्र स्वीकार गर्नुपर्नेछ ।
निर्देशनमा सुनको व्यवस्थापनको सुरक्षित भण्डारणका लागि प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ । नेपाल राष्ट्र बैङ्कका बैङ्क तथा वित्तीय व्यवस्थापन विभागका निर्देशक देवकुमार ढकालका अनुसार न्यूनतम २५ ग्राम परिमाणको सुनलार्ई निक्षेपको रूपमा लिनु्पर्नेछ । त्यसको शुद्धता र परिणामको जाँच गराई बैङ्कले प्रमाणपत्र दिनुपर्नेछ ।
आम नागरिकले सुन निक्षेप राख्दा निक्षेपको अवधि समाप्त भएपछि साँवा सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगदमा लिने भन्ने विषयमा यकिन गर्नुपर्छ । त्यस्तो अवधि न्यूनतम तीन वर्ष तथा अधिकतम पाँच वर्षको हुनेछ र त्यसलाई नवीकरणसमेत गर्न सकिने छ । सुन निक्षेपको ब्याजदर घोषणा गर्ने जिम्मा केन्द्रीय बैङ्कले वाणिज्य बैड्कलाई नै छोडिदिएको छ ।
ग्राहकले नगद ब्याज लिन चाहेमा त्रैमासिक रूपमा भुक्तानी गर्नुपर्नेछ भने सुनमा ब्याज लिन चाहने ग्राहकले त्रैमासिक रूपमा कम्पाउन्डिङ ब्याजदर गणना गरेर निक्षेप अवधिपछि सुनमा भुक्तानी गर्नुपर्ने निर्देशन दिएको छ । सुन प्राप्ति र भुक्तानी गर्दाको मितिमा सुन चाँदी व्यवसायी महासङ्घले तोकेको अनुसारमा बजार मूल्य काय हुने पनि व्यवस्था छ ।
निक्षेपमा राखिने सुन १० लाख रुपियाँ वा सोभन्दा बढीको भएमा अनिवार्य स्रोत खुलाउनुपर्ने निर्देशन छ । बैङ्कमा निक्षेप राखेको सुनको प्रमाणपत्रलाई सोही बैङ्कमा धितो राखेर ७० प्रतिशतसम्मको कर्जा पनि लिन सकिने छ । यस्तो कर्जाको ब्याजदरमा भने बैङ्कले सुन निक्षेपमा दिइएको ब्याजदरमा दुई प्रतिशत बिन्दुसम्म थप गर्न सक्ने सुविधा पनि केन्द्रीय बैङ्कले दिएको छ ।
यो व्यवस्था गहना सुनमा नभई ढिक्का सुन वा विदेशबाट फर्कने व्यक्तिले भन्सारमा तोकेअनुसारको कर तिरेर ल्याएको कच्चा सुनको लागि गरिएको निर्देशक ढकालले स्पष्ट पार्नुभयो तर ग्राहकले चाहेमा गहनालाई पगालेर ढिका बनाएर पनि निक्षेपका रूपमा राख्न सक्ने छन् ।
सुनको तौल वा शुद्धता परीक्षणका लागि केन्द्रीय बैङ्कले भारतमा नै अवलम्बन हुँदै आएको विधिलाई नै अपनाउन सकिने निर्देशक ढकालको भनाइ छ । त्यसका लागि बैङ्कहरूले २० देखि ३० राख रुपियाँसम्म लगानी गर्नुपर्ने हुनसक्ने पनि उहाँले बताउनुभयो । नयाँ योजना भएकाले आगामी दिन देखिएका समस्या समाधान गर्दै अगाडि बढिने उहाँले बताउनुभयो ।
सुन निक्षेपमा राख्ने विषय सकारात्मक भए पनि त्यसमा केही व्यावहारिक कठिनाइ भएको सुनचाँदी व्यवसायी महासङ्घमा महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । उहाँले ढिक्का सुनको खरिद–बिक्रीलाई सहज नहुँदा यस्तो व्यवस्था प्रभावकारी नहुने बताउनुभयो ।
नेपाल बैङ्कर्स एसोसिएसनले भने बजारमा नयाँ निक्षेप योजना आउन नसकिरहेको अवस्थामा नयाँ व्यवस्था हुनु सकारात्मक भएको जनाएको छ । एसोसिएसनका प्रमुख कार्यकारी निर्देशक अनिल शर्मा यस्तो प्रावधानले व्यक्ति तथा विभिन्न मठमन्दिरहरूमा थुप्रिएर रहेको सुन बैङ्किङ प्रक्रियामा आउन सक्ने छ । यसमा बैङ्कहरू के कसरी काम गर्ने भन्ने विषयमा छलफल होला ।