दमौली समाचारदाता
दमौली, फागुन २४ गते । व्यास नगरपालिका क्षेत्रको पृथ्वी राजमार्गको दायाँबायाँमा रहेका होटलको सरसफाइको अवस्था सुधार गर्नुपर्ने देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँको सहकार्यमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले व्यास नपा–५, चापाघाटदेखि म्याग्दे गाउँपालिकाको गुणादीसम्मका होटलमा गरेको अनुगमनमा होटलमा सरसफाइको अवस्थामा कमी देखिएकाले त्यो अवस्था सुधार गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले निर्देशन दिनुभएको छ ।
अनुगमन गरिएका अधिकांश होटलका भान्सामा सरसफाइको अवस्था कमजोर रहेको अनुगमनका क्रममा पाइएकाले त्यस्तो निर्देशन दिइएको बरालले बताउनुभयो । होटलको भान्सामा फोहोर, भान्सामै भाँडा माझ्ने गरेको, डस्टबिनको ढकन नलगाइएको, बाथरुम बाहिर रुमाल नराखिएको जस्ता कमजोरी पाइएको बरालले बताउनुभयो । उक्त कमजोरी सुधार गर्न होटल व्यवसायीलाई सचेत गराईएको र अर्काे पटकको अनुगमनमा पनि कमजोरी सुधार नभएको भेटिए कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताउनुभयो । उहाँका अनुसार व्यास नपा–५, चापाघाटस्थित रहेको होटल माउन्टेन रिभर भ्यु, दुना टपरी रेस्टुरेन्ट एन्ड लज, ग्रिनहिल रेस्टुरेन्ट, ए फोर खाजा घर, गोर्खाली हाइवे रेस्टुरेन्ट, म्याग्दे गापा–१, गुणादीको हाईवे रेस्टुरेन्ट र स्पिड ब्रेकर कटेज एन्ड रेस्टुरेन्ट लगायत अनुगमन गरिएको थियो ।
अनुगमका क्रममा होटलमा मूल्यसूची उपभोक्ताले प्रस्ट देखिने ठाउँमा राख्न सुझाव दिइएको पनि बरालले बताउनुभयो । अनुगमनका सहभागी होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठले अनुगमनबाट पाइएका सुझाव होटल सञ्चालकले पालना गर्ने बताउनुभयो । राम्रोसँग व्यवसाय गरे अनुगमनबाट डराउनु नपर्ने उहाँले बताउनुभयो ।