logo
२०८१ मंसिर ९ आईतवार



आरोहीले यात्रा विवरण बुझाउनुपर्ने

पर्यटन |


आरोहीले यात्रा विवरण बुझाउनुपर्ने


गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २८ गते । पर्वतारोहणको मुख्य सिजन सुरु हुनै लाग्दा कोरोना भाइरसको सङ्क्रमण व्यापक बनेपछि पर्यटन विभागले पर्वतारोहणलाई थप व्यवस्थित गर्ने भएको छ ।
विभागले वसन्त ऋतुमा आरोहणमा जानेका लागि थप नयाँ नियम लागू गरेको हो । जस अनुसार पर्वतारोहण दलका सम्पूर्ण सदस्यले स्वास्थ्य अवस्था पेस गर्दा पर्वतारोहणका लागि उपयुक्त भएको विवरण पेस गर्नुपर्नेछ । त्यस्तै आरोहीको कम्तीमा चौध दिनको यात्रा विवरण सम्बन्धित एजेन्सीले अध्ययन गर्नुपर्ने विभागले जनाएको छ ।
पर्वतारोहणबाहेक अन्य गतिविधि गर्नुपरेमा विभागबाट स्वीकृति अनिवार्य गरिएको छ । त्यस्तै आरोहीले पर्वतारोहणका लागि लैजाने तथा प्रयोग गर्ने सम्पूर्ण सामग्रीको दुई प्रति सूची विभागमा उपलब्ध गराउनुपर्ने भएको छ । आरोहण दलका सदस्यले बीमा गरे नगरेको यकिन गरी आरोहण अवधिभर बीमा गरेको कागजात एजेन्सीले सुरक्षित राख्नुपर्ने व्यवस्था विभागले गरेको छ ।
एजेन्सीले अनलाइन ब्रिफिङ भरेपछि मात्र विभागले आरोहण अनुमतिपत्र जारी गर्ने जनाएको छ । अनुमतिपत्र जारी भएको मौसम समाप्त भएको १५ दिनपछि मात्र आरोहणको प्रमाणपत्र जारी गर्ने काम सुरु हुने विभागले स्पष्ट पारेको छ तर अनलाइन डिब्रिफिङ नगरेको अवस्थामा भने प्रमाणपत्र जारी नहुने विभागले जनाएको छ ।
आरोहण दलका सबै सदस्यको यात्रा विवरण अनुमतिपत्र जारी गर्ने समयमा पेस गर्नुपर्ने भएको छ । त्यस्तै डिब्रिफिङको समयमा आरोही कुन माध्यमबाट काठमाडौँ फर्किए भन्ने विवरण पनि पेस गर्नुपर्ने विभागले जानकारी दिएको छ । आरोहण दलका सदस्यसँग जाने सहयोगीको बीमा गर्दा पदनाम राखेर बीमा गर्नुपर्ने पनि विभागले जनाएको छ ।
त्यस्तै एजेन्सीले आरोहीको आरोहण सफल भए नभएको विवरण पनि डिबिफ्रिङको समयमा विभागलाई उपलब्ध गराउनुपर्नेछ ।
आपतकालीन उद्धार गरिएका पर्यटकलाई आधुनिक उपकरण भएका सुविधासम्पन्न अस्पतालमा मात्र लैजाने बन्दोबस्त वायुसेवा, हेलिकप्टर सेवा सञ्चालक तथा
एजेन्सीले गर्नुपर्ने निर्देशन पनि विभागले
दिएको छ ।
आरोहणको समयपछि डिब्रिफिङ गर्दा दलको सम्पर्क अधिकृत पनि उपस्थित भई आफ्नो दलको सम्पूर्ण विवरण उपलब्ध गराउनुपर्ने विभागले जनाएको छ । खासगरी सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । अन्य हिमाल आरोहणका लागि पनि वसन्त ऋतुमा नेपालको पर्वतारोहणको मुख्य सिजन मानिन्छ । सयौँ आरोही यो सिजनमा हिमाल आरोहणका लागि नेपाल भित्रिने गर्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?