गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र ४ गते । मलेशिया सरकारले मलेशिया जाने सवै विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । मलेशियामा रहेको नेपाली राजदूतावासले मंगलबार सूचना जारी गर्दै सो जानकारी गराएको हो ।
मलेशियाले १८ मार्च २०२० देखी ३१ मार्च २०२० सम्मपूर्ण रोक लगाउने निर्णय गरेको हो । दूतावासको सूचना अनुसार नेपाल फिर्ता जान चाहनेको हकमा हालसम्म रोक नलगाईएको उल्लेख छ । दैनिक उपभोगका सामग्री र सेवा पाउने पसल, सुपरमार्केट, औषधि पसल, अस्पताल, यातायात, प्रहरी लगायतको महत्वपूर्ण सेवा दिने निकायहरु भने खुला रहने बताइएको छ ।
मलेशिया सरकारले जमघट, भेला लगायत अन्य सामाजिक भेटघाट गर्ने क्रियाकलापमा रोक लगाएको छ । साथै कलेज, विद्यालय, विश्वविद्यालय लगायत शैक्षिक संस्था समेत बन्द हुने सूचनामा उल्लेख छ ।
नेपाली दूतावासले १९ मार्च २०२० (बिहिवार देखी )३१ मार्च २०२० सम्मको लागि सेवा प्रवाहमा परिवर्तन गरेको बताएको छ ।
राजदूतावासको नियमित कन्सुलर सेवाहरु जस्तै राहदानी नविकरण, यात्रा अनुमति पत्र, प्रमाणिकरण कामहरु स्थगित गरेको बताएको छ । साथै कुनै अत्यावश्यक काम परे दूतावासको हटलाईन नम्बरमा सम्पर्क गर्न समेत दूतावासले आग्रह गरेको छ ।