गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ६ गते । नेपालमा कोरोना भाइरसको प्रकोप हालसम्म नदेखिए पनि जनमानसमा फैलिएको अधिक त्रासका कारण दैनिक उपभोग्य सामग्री अनावश्यक सञ्चिति गर्ने प्रवृत्ति बढ्न थालेकोमा विभिन्न क्षेत्रका सरोकारवालाले चासो देखाएका छन् ।
राजधानीमा बुधबार नेपाल जनप्रशासन सङ्घद्वारा आयोजित कार्यक्रममा सरकारले बारम्बार आपूर्ति ब्यवस्था सहज भएको, सबैजसो उपभोग्य सामग्रीको पर्याप्त मौज्दात रहेको र अत्तालिनु पर्ने कुनै कारण वा आधार नरहेको बताइरहे पनि आम उपभोक्ता भने आश्वस्त हुन नसकिरहेको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन् ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थ, खाद्यान्य, औषधिलगायतका दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा सहज रूपमा भइरहेको भन्दै कसैले पनि अत्तालिएर अनावश्यक सञ्चय गर्नु आवश्यक नरहेको बताउनुभयो । उहाँले बजार मूल्यमा पनि कुनै उतारचढाव नआएको जानकारी गराउनुभयो । उहाँले विश्वभर देखिएको विषम परिस्थितिमा पनि मानवीयता बिर्सिएर कालोबजारी गर्न खोज्नेलाई कडा कारबाही गर्न सरकार पछि नपर्ने बताउनुभयो ।
कार्यक्रममा राज्यमन्त्री मोतीलाल दुगडले दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यस्तो अवस्थामा कसैले कालोबजारी गरेमा वा कुनै सामग्री अभाव भएका हामीलाई प्रत्यक्ष जानकारी गराउनुहोस् । हामी कारबाही गर्छौं । ’’
उहाँले भारतबाट आयात हुने २६ प्रकारका औषधि आपूर्ति सहज बनाउने विषयमा पनि भारतीय समकक्षीसँग वार्ता गरेपछि भारतले नेपाललाई आवश्यक औषधि उपलब्ध गराउन तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, कसैले कुनै सामग्रीमा मूल्यवृद्धि गर्छ भने त्यसको प्रमाणसहित उचित कारण देखाउनुपर्ने बताउनुभयो । उहाँले यस्तो अवस्थामा जनता पनि उत्तिकै जिम्मेवार भएर सरकारको प्रयासलाई साथ सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले आगामी छदेखि सात महिनासम्म पुग्ने औषधिको मौज्दात रहेको, उत्पादनका लागि समेत कच्चा पदार्थ पर्याप्त रहेको बताउनुभयो । उहाँले औषधि बिक्री र खरिद गर्दा रेकर्ड राखेर मात्र खरिद बिक्री गर्न सरोकारवालालाई निर्देशन दिएको पनि बताउनुभयो । उहाँले भारतबाट आउने २६ प्रकारको औषधि रोकिए पनि तेस्रो मुलुकबाट आइरहेको बताउनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले हाल कर्पोरेसनमा करिब १० महिनाभन्दा बढी समयलाई पुग्ने नुनको मौज्दात रहेको जानकारी गराउनुभयो । उहाँले हाल कर्पोरेसनसँग करिब सात हजार पाँच सय मेट्रिक टन नुन मौज्दात रहेको, दुई हजार पाँच सय मेट्रिकटन सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको र दुई हजार पाँच सय मार्गस्थलमा रहेको जानकारी गराउनुभयो । उहाँले ग्यासको आपूर्ति पनि विगतको जस्तै भइरहेको पनि स्पष्ट पार्नुभयो । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि २७ हजारभन्दा बढी मेट्रिकटन खाद्यान्य मौज्दात रहेको, थप १० मेट्रिक टनका लागि सूचना निकालिएको बताउनुभयो । उहाँले ग्यासको विकल्पमा इन्डक्सन चुलो सहुलियत दरमा बिक्री भइरहेको पनि जानकरी दिनुभयो ।
कार्यक्रममा पानका अध्यक्ष कृष्णहरि बास्कोटाले कोरना भइरसको कारण त्रासदीपूर्ण अवस्थामा आम उपभोक्तालाई सरकार र उद्योगी व्यवसायीले दैनिक उपभोग्य वस्तु र औषधिमा कुनै कमी हुन नदिने वातावरण बनाउन आग्रह गर्नुभयो । मुलुकमा पनि सन्त्रास फैलिएको अवस्थामा सरकारले स्पष्ट रोडम्याप जनतालाई सुसूचित गर्दै जानु पर्ने आवश्यकता औँल्याउनुभयो ।
पानले संविधानको धारा ४४ मा रहेको उपभोक्ता हक अनुसार प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त भएको र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई क्षतिपूर्ति पाउने हकको पूर्ण प्रत्याभूति हुने गरी कानुनी प्रबन्ध गर्नुका साथै तीन तहका सरकार प्रतिबद्ध हुनुपर्छ ।