logo
२०८१ मंसिर १२ बुधवार



विदेशको कमाइले स्वदेशमा कागती खेती

अर्थ |


विदेशको कमाइले स्वदेशमा कागती खेती


नारायणपुर, चैत ७ गते । तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती गर्नुभएको छ । रुकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आउनुभएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती शुरु गर्नुभएको हो । वार्षिक  ५० हजारका दरले जग्गा भाडामा लिई व्यवसाय शुरु गर्नुभएका खड्कालाई शुरु शुरुमा गाउँलेले नै पत्याएका थिएनन् । कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँले पनि कागती किन्न र हेर्न आउन थालेका छन् ।

दुई वर्ष पहिले लगाएको कागतीले अहिले उत्पादन दिइरहेको छ । भर्खरै १५ क्विन्टल कागती प्रतिकेजी रु १२० का दरले बिक्री गरेको खड्काले जानकारी दिनुभयो । चटपटे बनाउनेदेखि बजारका तरकारी पसले उहाँका ग्राहक हुन् । गाउँघरमै सानोलाई रु १० र ठूलोलाई रु १५ प्रतिगोटाका दरले पनि बिक्री भइरहेको खड्का बताउनुहुन्छ । घर परिवारका पाँचले नियमित काम गरिरहे पनि कहिलेकाहीँ चार÷पाँच कामदार लगाउनुपरेको उहाँले बताउनुभयो ।

कागतीको बिरुवा भारतबाट प्रतिबोट रु २५० मा किनेर ल्याउनुभएका खड्का यो कुन जातको कागती हो भन्ने नै थाहा नभएको बताउनुहुन्छ । मकवानपुरमा यो जातको कागतीलाई एम १५ भन्ने गरे पनि कृषि विज्ञका अनुसार फरकफरक नाम भन्ने गरेको उहाँले बताउनुभयो । रोजगारीका लागि दुईपटक मलेशिया र एकपटक अफगानिस्तान गएर आएपछि खड्काले व्यवसाय शुरु गर्नुभएको हो । छ वर्ष विदेश गएर कमाएको पैसा लगानी गरेर व्यवसाय शुरु गर्नुभएका खड्काले व्यवसायमा रु ७५ लाख लगानी गरेको बताउनुभयो ।

विदेशमा गरेको दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि कर्म नै रोजेको उहाँले बताउनुभयो । “नेपाली बजारमा सधँै प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहाँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँ”, खड्काले भन्नुभयो । बिजौरीको २२ कट्ठाको खेतीबाट उत्पादन शुरु भएपछि खड्काले घोराही उपमहानगरपालिका–५ धर्नामा तीन बिघा जग्गा भाडामा लिएर कागती र माछापालन शुरु गर्नुभएको छ । कागतीसँगै माछा, कुखुरा, केराखेतीसँगै भैँसी र बाख्रा पनि पाल्नुभएको छ ।

व्यवसाय शुरु गरे पनि सरकारबाट कुनै किसिमको सहयोग नपाएको उहाँले बताउनुभयो । “बैंकको ऋण लिन पनि धितो चाहिने तर आफूसँग जग्गा जमिन नभएकाले साथीभाइसँग महँगोमा ऋण लिनुपरेको छ”, खड्काले भन्नुभयो । कृषि पेशाबाट मानिस पलायन भएर अन्य पेशा अपनाइरहेका समयमा खड्काले गरेको कृषिले सबैको मन लोभ्याउने गरेको छ । सरकारबाट अनुदान नपाइए पनि सहुलियत ऋणको व्यवस्था गरिदिए कृषि पेशामा आकर्षण बढ्ने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?