जाजरकोट, चैत ८ गते । वर्षौंदेखि बाँझो रहेको जुनिचाँदे गाउँपालिका–९ साकियामा टर्कीबाट ल्याएको ‘चाङदलर’ ओखर लगाएपछि खाली जग्गा सदुपयोग भएको छ । स्थानीयवासी दैनिक उक्त ओखरको हेरदेख, मलजल र खाडल व्यवस्थापनमा जुटेका कारण चहलपहल बढेको छ ।
कर्णाली प्रदेश मातहतको कृषि विकास कार्यालय जाजरकोटले लक्षित वर्ग विशेष कार्यक्रममार्फत साकियाका १०० घरधुरी कृषकलाई एक हजार ५०० बिरुवा वितरण गरेको छ । कृषकको जीवनस्तर आर्थिकरुपमा उठाएर व्यावसायिकरुपमा गति दिनलाई सो कार्य गरिएको प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । स्थानीयवासी कृषक रामबहादुर बुढाले भन्नुभयो, “सबै बिरुवा सित्तैमा कृषि कार्यालयले उपलब्ध गराएको हो, हामी यसलाई राम्रोसँग हुर्काएर नतिजा निकाल्न चाहान्छौँ”, अधिकारीका अनुसार तीन वर्ष नर्सरीमा रहेकाले अबको तीन वर्षभित्र फल दिनेछ ।
यहाँको भूगोल, माटो र वातावरणीय अवस्थाअनुसार टर्की चाङदलर बिरुवा उपयुक्त हुने भएपछि रोपिएकोे हो । टर्कीबाट कार्गो भाडासमेत गर्दा प्रतिबिरुवा रु ९०० परेको कार्यालयले जनाएको छ ।
त्यस्तै कुशे गाउँपालिका–७ समाइलामा २४६ घरधुरीलाई सात हजार बिरुवा वितरण गर्न लागिएको छ । प्रतिघरधुरी २८ बिरुवा वितरण गरिने छ । त्यस्तै नलगाड नगरपालिका–डाडाँकटारीमा रु ४० हजार कागतीका बिरुवा वितरण गर्न लागिएको छ । छेडागाड नगरपालिका–५ सिँचाइ आयोजना निर्माण स्थानीयवासीले सिँचाइ सुविधा पाएका छन् ।
त्यस्तै सोही ठाउँमा रु १८ लाखको आँपको बिरुवासमेत वितरण गर्ने अन्तिम तयारी भएको छ । प्रदेशसभा सदस्यको सिफारिसमा यी ठाउँमा बिरुवा वितरण गरिएको हो । ठाउँअनुसारको बिरुवा सिफारिस गरिएको र अर्को वर्षसमेत यो कार्यक्रम जारी रहने प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।