logo
२०८१ मंसिर १२ बुधवार



विराटनगर ‘लक डाउन’, उद्योगी–व्यवसायीद्वारा समर्थन

अर्थ |


विराटनगर ‘लक डाउन’, उद्योगी–व्यवसायीद्वारा समर्थन


नवराज कट्टेल

विराटनगर, चैत ११ गते । उद्योगी–व्यवसायीको आग्रहमा विराटनगर महानगरपालिका क्षेत्र मङ्गलबारदेखि लक डाउन गर्ने निर्णय गरिएको छ ।
विराटनगर महानगरपालिकाले अनिश्चितकालका लागि लक डाउन गर्ने निर्णय गरेको हो । यो निर्णयलाई समर्थन गर्दै मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र विराट व्यापार सङ्घले संयुक्त विज्ञप्ति प्रकाशित गरेका छन् ।
कोरोना सन्त्रासका कारण बजारमा भीडभाड नगर्न सरकारले गरेको आग्रहलाई बेवास्ता गर्दै सर्वसाधारण सोमबार पनि बजारमा आएपछि औपचारिक निर्णय गरेर लक डाउन गर्न लागिएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।
महानगर क्षेत्रभित्रका हाटबजार सोमबारदेखि नै बन्द गरिएको थियो । सोमबार उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ र विराट व्यापार सङ्घसँगको छलफलमा उद्योगी–व्यवसायीले पूर्ण रूपमा लक डाउनको प्रस्ताव ल्याउनुभयो । पराजुलीले स्वतःस्फूर्त रूपमा बजार बन्द गरेर सबै नागरिकलाई घरभित्रै बस्न आग्रह गरिएको छ भन्नुभयो ।
मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले आमनागरिको सुरक्षा चासोमा सबै क्षेत्र सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले उद्योग प्रतिष्ठानलाई समेत सरकारले गरेको निर्णयलाई आधार मान्दै निर्णय लिन भनेका छौँ । हामीले बन्द गर्नु भन्न मिल्दैन, गम्भीर परिस्थितिको मूल्याङ्कन उद्योगीले गर्नुहुनेछ भन्नुभयो ।
बजार लक डाउन भएपछि खाद्यान्न, औषधि, पानी, दूध, तरकारी र एम्बुलेन्स सेवा भने सञ्चालनमा रहने छन् । छोटो दूरीमा जानका लागि अत्यावश्यक हुनेका लागि सिटी रिक्सा प्रयोगमा ल्याउन सक्ने तर चालकले अनिवार्य मास्क लगाउनुपर्ने निर्णयसमेत गरिएको छ । कसैले निर्णयको अवज्ञा गरे स्थानीय प्रशासनको सहयोगमा कारबाही गरिने भएको छ ।
विराटनगरको सीमा क्षेत्र रानी–जोगवनीसमेत सोमबारदेखि पूरै बन्द गरिएको छ । सरकारको आइतबारको निर्णयानुसार सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । जसका कारण भारतबाट नेपाल प्रवेश गर्न सक्ने सम्भावित नाकालाई पूरै कडाइ गरिएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?