दुल्लू, चैत १६ गते । दैलेखको पश्चिम आठबिसको क्वारेन्टाइनमा राखेर उपचार गरिरहेका बिरामीको स्वास्थ्यमा सुधार आएको छ । गएको बिहीबारदेखि क्वारेन्टाइनमा राखिएका बिरामीको स्वास्थ्यमा सुधार आएको स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले दिनुभयो । बिरामीलाई क्वारेन्टाइनमा ल्याउनुअघि ज्वरो र खोकी बढी मात्रामा थियो । “बारम्बारको निगरानी र नियमित उपचारले पहिलेभन्दा सुधार भइरहेको छ”, उहाँले भन्नुभयो ।
दुई बिरामीमा कोरोना छ कि छैन भनेर स्वाब परीक्षणका लागि चिकित्सक टोलीले शुक्रबार नै नमूना लगिसकेको छ । “क्वारेन्टाइनमा ल्याउँदा बिरामीले खाना खानुहुन्नथ्यो, नियमित निगरानी गर्दा सहजै खान थाल्नुभएको छ”, तिमिल्सेनाले भन्नुभयो, शौचालय आफैँ जानुहुन्छ । क्वारेन्टाइनमा ल्याउँदा सहयोगी चाहिन्थ्यो । अवस्था कमजोर थियो । आजभोलि क्रमिकरूपले सुधार भइरहेको छ ।”