logo
२०८१ माघ ३० बुधवार



हेटौँडामा ९९ वटा नमूना परीक्षण, सबैमा भाइरस फेना परेन

प्रदेश |


हेटौँडामा ९९ वटा नमूना परीक्षण, सबैमा भाइरस फेना परेन



राममणि दाहाल
हेटौँडा, चैत २९ गते । हेटौँडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा रहेको ल्याब ९९ जनाको स्वाबको नमूना परीक्षण भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न सङ्घीय सरकारको नीतिअनुसार एक साताअघिबाट केन्द्रमा रहेको कोरोना प्रयोगशालामा परीक्षण सुरु गरिएको हो । कोरोना प्रयोगशालामा कोरोनाका शङ्कास्पद विरामीको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा सबै नमूनाको रिर्पोट नेगेटिभ आएको छ ।
मकवानपुरसहित पर्सा र चितवनमा सङ्कलन भएका नुमनाको हेटौँडामा परीक्षण हुँदै आएको छ ।

हेटौँडामा रहेको कोरोना प्रयोगशालामा परीक्षण गरिएका सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज सेढाईले जानकारी दिनुभयो । प्रयोगशालामा परीक्षणका लागि ल्याइएका १०५ जनाको स्वाबको नमुनामध्ये छ जनाको रिर्पोट पाउन बाँकी रहेको छ ।
उहाँका अनुसार शुक्रबार स्वाबको ३५ वटा नमुना आएकोमा २९ वटाको जाँच भएर रिर्पोट नेगेटिभ आएको छ, तीन वटा जाँच गर्न बाँकी रहेको र तीन वटा नमुना काठमाडौँ पठाइएको छ । यहाँको प्रयोगशालमा कोरोना पोजेटिभ र नेगेटिभ स्पष्ट भएन उहाँले भन्नुभयो, स्वाबको तीन वटा नमुना थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको ती तीन वटै नमुना वीरगञ्जबाट सङ्कलन गरी ल्याइएको थियो । शनिबार थप नमुना पनि नआएका कारण प्रयोगशालामा रहेको पीसीआर उपकरणलगायतका ल्याबका उपकरणहरु सरसफाई गरिएको छ ।दैनिक ६० वटासम्म स्वाबको नमूना परीक्षण गर्न सकिने क्षमता रहेको हेटौँडाको प्रयोगशाला अघिल्लो शुक्रबारबाट सञ्चालनमा ल्याइएको हो ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाहेक धुलिखेल अस्पतालमा रहेको ल्याबमा हालसम्म २६ वटा स्वाबको नमुना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ प्राप्त भएको छ । धुलिखेलमा आइतबार र बुधबार परीक्षण हुँदै आएको छ ।

भरतपुरस्थित प्रयोगशालामा ९४ जनाको स्वाबको नमुना परीक्षण भएको सबैको रिपोर्ट नेगेटिभ प्राप्न भएको जनाइएको छ ।
हेटौँडास्थित प्रयोगशालाका लागि कोरोना भाइरस भए नभएको परीक्षण गर्न ३७५ वटा किट आएको छ । प्रयोगशालाका लागि हेटौँडामा केन्द्रमा विज्ञ जनशक्तिको अभावमा उपयोगविहीन अवस्थामा रहेको उपकरण परीक्षणपछि कोरोना भाइरस लागे नलागेको परीक्षण गर्न उपयोगमा ल्याइएको हो ।

बाग्मती प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा प्रयोगशालामा भएको उपकरण प्रयोगमा ल्याउन आवश्यक विज्ञ प्राविधिक र परीक्षणका लागि कीटलगायतका स्वास्थ्य सुरक्षाका सामग्री व्यवस्था गरेको छ । मलेरिया, डेँगु, कालाजार, जापानिज इन्सेफलाइटिसको परीक्षण हुँदै आएको प्रशोगशाला उपकरण सञ्चालन गर्ने विज्ञ र थप सामाग्री अभावमा वर्षौदेखि प्रभावकारी रुपमा प्रयोगमा आउन सकेको थिएन ।

तालिम केन्द्रमा कोरोनालगायत अन्य भाइरस, व्याक्टेरिया, प्यारासाइटहरूको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्न पोलिमेयर चेन रियाक्सन ल्याब (पीसीआर) स्थापना गरिएको थियो । तर केन्द्रमा रहेको उपकरण सञ्चालन गर्ने विज्ञ जनशक्तिको अभावमा प्रयोगमा आउने सकेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?