अमरराज नहर्की
तनहुँ, वैशाख २ गते । बन्दाबन्दीका कारण सहर छाडेर गाउँमा पुगेका मानिस खेतीपातीमा व्यस्त हुन थालेका छन् । कृषि पेसा छाडेर सहर पसेकाहरू गाउँ फर्किएर मद्दत गरेकाले कृषिमा कामदारको अभाव हटेको छ ।
कोरोना भाइरसको त्रासका बीच सहरीयाहरू फाल्टु बस्नुभन्दा घरगोठको काम नियमित रूपमा गरिरहेका छन् । सहर र विदेशबाट घर फर्किएका आफ्नै भाइछोराबाट गाउँमा कोरोना विषाणु भित्रिने पो हो कि भन्ने चिन्ता भने गाउँवासीलाई थपिएको छ ।
पाखो बारीमा मकै छर्न र सिँचाइ सुविधा भएका फाँट तथा खेतमा चैतेधान रोप्न मानिसको चहलपहल बढेको छ । विशेषगरी अहिले चैतेधान रोप्ने र मकै लगाउने समय भएकाले यही काममा खटिएका हुन् । जिल्लाको चुँदी, कलेस्ती, साँगे, पुर्कोट, सेराफाँट, म्याग्दे, भिमाद, आँबुखैरेनी लगायतका क्षेत्र चैतेधानका लागि प्रख्यात छन् ।
ती क्षेत्रका अधिकांश मानिसलाई यतिबेला चैतेधान रोप्न र मकै छर्न चटारो रहेको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बताउनुभयो । त्यसो गर्दा उनीहरूले सामाजिक दूरी कायम गर्ने गरेका छन् ।
पुख्र्यौली थलो छाडेर सहर पसेका छोरा तथा बुहारी गाउँ फर्किएका र फुर्सदिला भएकाले कृषिमा मद्दत मिलेको अध्यक्ष माया बताउनुहुन्छ ।
बन्दाबन्दी भए पनि घरभित्रै थुनिएर बस्दा खाद्यान्न नपुग्ने भन्दै ग्रामीण क्षेत्रका बासिन्दा खेतबारीको काममा जुट्न पुगेको म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । गाउँमै बसेका मानिसले कोरोनाको त्रास भए पनि खेतबारी जोत्नेदेखि गाईबस्तुको गोठाला जाने कामलाई निरन्तरता दिँदै आएको उहाँ बताउनुहुन्छ ।
व्यास नगरपालिका–५ का विष्णु थापाले यो मौसम खेतबारीमा मकै रोप्ने समय भएकाले खेतीपातीमै व्यस्त हुने गरेको बताउनुभयो । बन्दाबन्दीका बेला घरमा बसेर समय बिताउन पनि गाह्रो हुने भएकाले समयमै खेती गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी, प्रहरी, प्रशासन, जनप्रतिनिधि लगायत गाउँमै पुगेर कोरोनाविरुद्ध जनचेतनाका कार्यक्रम गर्दै आए पनि त्यसले यहाँका अधिकांश कृषकलाई खासै छुन सकेको पाइँदैन ।
जिल्लामा ५१ हजार ५५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य भए पनि छ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाहै्र महिना सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । बाह्रैमास सिँचाइ पुगे पनि काम गर्ने मानिसको अभावले बाँझो रहेका जमिन पनि यसपालि धान बिउ रोप्ने गरेको र बिउ नपुगेका कृषकले मकै छरेको पाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
१३ हजार ५८० हेक्टर जमिनमा सिँचाइको सुविधा छ भने सात हजार २३३ हेक्टर जमिनमा बेमौसमी सिँचाइ हुने भएकाले आकाशे पानीको भरमा पनि धान खेती हुने गरेको कार्यालयका वरिष्ठ अधिकृत कुलप्रसाद तिवारीले बताउनुभयो । सामाजिक दूरी कायम गरी काम गर्न कृषकलाई आग्रह गरिएको उहाँ बताउनुहुन्छ ।