logo
२०८१ मंसिर १३ बिहीवार



निर्माणाधीन जलविद्युत् आयोजनाको काम सुरु

अर्थ |


निर्माणाधीन जलविद्युत् आयोजनाको काम सुरु
लमजुङको दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’को बाँध क्षेत्र । तस्बीर: बेलिना थापा


सन्तोष राउत

सोलुखुम्बु, वैशाख ३ गते । बन्दाबन्दीका कारण लामो समयदेखि ठप्प सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको काम आंशिक रूपमा सुचारु भएको छ । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुने निर्णय गरेपछि तत्कालका लागि स्थगित गरिएका आयोजनाको काम सुचारु
भएको हो ।
सरकारले बाहिरबाट श्रमिक ल्याएर काम लगाउन नपाउने तर पहिले नै आयोजनामा कार्यरत कामदार प्रयोग गरेर काम गर्न पाउने निर्णय गरेपछि सोलुखुम्बुको एउटै खोलामा निर्माणको चरणमा रहेका आधा दर्जन आयोजनाले काम सुचारु गरेको जनाएका छन् ।
सोलुखोलमा निर्माणाधीन ५.२ मेगावाटको दोभान हाइड्रोपावर, सोलुखुम्बु र रामेछापको सिमाना भएर बग्ने लिखु खोलामा निर्माणाधीन लिखु १, लिखु २ र लिखु ए, सोलु दूधकोसी हाइड्रोपावर र तल्लो सोलु हाइड्रोपवारको काम सुचारु गरिएको हो ।
बन्दाबन्दीको सुरु हुनुभन्दा पहिला नै आयोजनामा काम गर्ने कामदारलाई सुरक्षित तरिकाले काम लगाइएको लिखु हाइड्रोपावरले जनाएको छ । अधिकांश हाइड्रोपावरले सिमेन्टलगायतका सामान आपूर्ति नहुँदा समस्या भएको जनाएका छन् ।
सोलुखोलामा निर्माणाधीन नेपालकै निजी स्वदेशी लगानीमा बन्न लागेको सबैभन्दा ठूलो ८६ मेगावटको जलविद्युत् आयोजनाका लागि सिमेन्ट आपूर्तिमा समस्या भएकाले प्लम्बिङलगायतका काम भइरहेको जनाएको छ । कोरोना विषाणुको सङ्क्रमण फैलिन नदिन बाहिरका कामदार प्रयोग नगरी भित्रै रहेका कामदारबाट आंशिक काम हुन थालेको आयोजनाले जनाएको छ ।
सोलुखुम्बुमा दुई सय मेगावाटभन्दा बढी क्षमताका विभिन्न आयोजनाको निर्माण भइरहेको छ । कोरोनाका कारण काम गर्न नपाउँदा आयोजनाको समय र लागत बढ्नसक्ने भन्दै आयोजनाले चिन्ता व्यक्त गरेका छन् ।  

आयोजना अन्योलमा

बेलिना थापा

लमजुङ, वैशाख २ गते । सरकारले लकडाउन गरेपछि निर्माणाधीन आयोजना समस्यामा परेका छन् । सरकारले निर्माण सामग्री आपूर्तिमा व्यवस्थापन गरेर निर्माण कार्य अघि बढाउन भने पनि निर्माण सामग्री ढुवानी हुन सकेको छैन ।
लकडाउनको दोस्रो सातापछि सरकारले ठूला विकास निर्माण कार्य अघि बढाउन आग्रह गरे पनि जलविद्युत् आयोजनाको निर्माण कार्य ढुवानीका कारण समस्यामा परेको प्रवद्र्धकले बताएका छन् । अति आवश्यक सिमेन्ट, बालुवा, डण्डीलगायतको सामग्री अभावले काम गर्न समस्या परेको उनीहरूले बताएका छन् ।
दोर्दी खोलामा निर्माण भइरहेको ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् खायोजना ‘ख’का प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीका अनुसार लकडाउनको सुरुमा आयोजना ठप्प भएको थियो । आयोजनामा काम नहुँदा कार्यरत कामदार बेकामे बस्नुपरेपछि दोर्दी गाउँपालिका र आयोजनाबीच १२ बुँदे समझदारी भएर पुनः सञ्चालन भएको थियो । आयोजनाले केही काम सुरु गरे पनि निर्माण सामग्रीको अभाव भएपछि काम गर्न समस्या भएको उहाँले बताउनुभयो । सामान ढुवानी गर्न सकिएको छैन, उहाँले भन्नुभयो, कामदारले काम पाएका छैनन् । लकडाउनले घर जान पनि पाएका छैनन् । आयोजनाको करिब ६५ प्रतिशत निर्माण सकिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?