गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ९ गते । चैतको दोस्रो हप्तादेखि सुरु बन्दाबन्दीका कारण महŒवपूर्ण आर्थिक गतिविधि करिब ठप्प छ । समग्र अर्थतन्त्र शिथिल छ । त्यसको अघिल्लो महिना अर्थात् फागुनमा भने नेपालको अर्थतन्त्रका महŒवपूर्ण सूचक भने सामान्य रहेको
पाइएको छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको तथ्याङ्कअनुसार निर्यात अघिल्ला महिनाजस्तै वृद्धि भएको छ भने आयात थोरै भए पनि घट्दो छ । समीक्षा अवधिसम्म निर्यात २२.३ प्रतिशतले बढेर ७४ अर्ब ९१ करोड रुपियाँ पुगेको छ भने आयात २.६ प्रतिशतले घटेर नौ खर्ब २४ अर्ब रुपियाँ पुगेको छ । व्यापार घाटामा ४.३ प्रतिशतले सङ्कुचन आई आठ खर्ब ४९ अर्ब पुगेको छ ।
फागुनसम्म सरकारको खर्च पाँच खर्ब ६२ अर्ब रुपियाँ पुगेको छ । अघिल्लो फागुनसम्म यस्तो खर्च पाँच खर्ब १९ अर्ब रुपियाँ थियो । प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने समेत गरेर सरकारले अहिलेसम्म छ खर्ब ३० अर्ब ८० करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
भ्रमणबापत प्राप्त हुने आय ११.९ प्रतिशतले बढेर ५४ अर्ब १० करोड रुपियाँ पुगेको छ । भ्रमणबापत विदेशमा हुने खर्च २०.८ प्रतिशतले घटेर ४८ अर्ब ९६ करोड पुगेको छ । शिक्षामा बाहिरिने खर्च ३२ अर्ब १७ करोड रुपियाँबाट घटेर २३ अर्ब ९८ करोड रुपियाँ पुगेको छ ।
चालू खाता घाटा एक खर्ब २४ अर्ब रुपियाँ पुगेको छ, जुन अघिल्लो फागुनमा एक खर्ब ९१ अर्ब रुपियाँ घाटामा थियो । अघिल्लो वर्ष ५८ अर्ब ९९ करोड रुपियाँले शोधनानन्तर घाटामा रहेकोमा अहिले ३७ अर्ब ८४ करोड रुपियाँले बचतमा छ । वैदेशिक लगानीसम्म फागुनसम्म १५ अर्ब ६१ करोड रुपियाँ पुगेको छ । विदेशी मुद्राको सञ्चिति ११ खर्ब ३६ अर्ब रुपियाँ छ । यस्तो सञ्चितिले करिब नौ महिनासम्मको वस्तु आयात धान्न
सकिने देखिन्छ ।
यसबीचमा मूल्यवृद्धि भने निरन्तर उकालो लाग्दो छ । फागुनको उपभोक्ता मूल्यवृद्धि ६.७० प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ४.२० प्रतिशत मात्र थियो । काठमाडौँमा यस्तो मूल्यवृद्धि ७.६१ प्रतिशत पुगेको छ । सबैभन्दा कम हिमालमा ५.४२ प्रतिशत छ । यसबीचमा खासगरी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि चुलिएर ९.३३ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवाको मूल्यवृद्धि नियन्त्रणकै अवस्था अर्थात् ४.६९ प्रतिशत छ ।
विपे्रषणको आप्रवाहमा देखिएको न्यून वृद्धिदर फागुनमा पनि कायम छ । विपे्रषण १.८ प्रतिशतले बढेर पाँच खर्ब ९२ अर्ब ४२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर २३.४ प्रतिशत थियो । श्रम स्विकृति लिनेको सङ्ख्या भने अघिल्लो वर्षको तुलनामा
बढेको अवस्था छ ।