logo
२०८१ मंसिर १३ बिहीवार



मूल्य गिरावटको असर पर्दैन : निगम

अर्थ |


मूल्य गिरावटको असर पर्दैन : निगम



गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ११ गते । अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले मूल्य ऋणात्मकमा पुगे पनि नेपालमा त्यसको असर नपर्ने नेपाल आयल निगमले जनाएको छ । बन्दाबन्दीका कारण मूल्यमा गिरावट आउनुको प्र्रमुख कारण मानिएको छ ।
निगमका अनुसार नेपालमा खाडी देशहरूबाट पेट्रोलियम पदार्थ आउने हो । इन्डियन आयल कर्पोरेसनले खाडी राष्ट्रको बजारबाट ८५ प्रतिशत कच्चा तेल लिएर भारतमा तयारी तेल बनाउँछ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भन्नुभयो “अमेरिकामा आएको गिरावटले यहाँ असर गर्दैन ।
त्यहाँको तेलको क्वालिटी पनि फरक हो । हामीकहाँ गल्फबाट आउने हो तेल । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा हुने उतारचढावबारे नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको स्वचालित मूल्य कार्यान्वयनबाटै निर्धारण हुन्छ तर अमेरिकातिरको मूल्यले असर गर्दैन । ”

मध्य र सुदूरपश्चिमबाट आयात सुचारु
बन्दाबन्दीका कारण पेट्रोलियम पदार्थको आयात रोकिएकामा नेपालगञ्ज र धनगढीको गौरीफाँट नाकाबाट आयात सुरु भएको छ । कोरोना विषाणुको त्रासका कारण दुई हप्तादेखि आयात रोकिएको थियो ।
कोरोनाको त्रासका कारण ट्याङ्कर चालकहरू लोड लिन भारत जान नमानेपछि आयात रोकिएको थियो तर नेपाल आयल निगमले चालकहरूलाई कोरोना विषाणुबाट बच्ने सुरक्षाको प्रत्याभूति गराएपछि आयात सुरु भएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले सुरक्षाको प्रत्याभूतिसहित अनुरोध गरेर ढुवानी सुचारु गराएको बताउनुभयो । मङ्गलबार धनगढीबाट ४५ वटा ट्याङ्कर ढुवानीका लागि गएको निगमले जनाएको छ । आयात नभए पनि सो क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भने छैन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?