गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ११ गते । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अनलाइनमार्फत अर्डर लिएर होम डेलिभरी सेवा प्रभावकारी भएको जनाइएको छ । कम्पनीले अघिल्लो साता परीक्षणका रूपमा सञ्चालनमा ल्याएको उक्त सेवाको प्रभावकारिता बढ्दै गएको हो ।
कम्पनीका बिक्री विभाग प्रमुख एवं सूचना अधिकारी शर्मिला सुवेदीले एक साताअघि परीक्षणका रूपमा सुरु गरेको खाद्य कम्पनीका सामानको अनलाइन अर्डर बढेको जानकारी दिनुभयो । उहाँले अहिले खाद्य कम्पनीका खाद्यान्न मागका लागि दैनिक २२÷२३ वटा अर्डर आइरहेको पनि
जानकारी दिनुभयो ।
उहाँका अनुसार कम्पनीसँग हाल सोना मनसुली, जापनिज चामल, कर्णालीको सिमी र तीतेफापर उपलब्ध छ । खाद्य कम्पनीसँग उपलब्ध खाद्यान्न खरिद गर्न चाहनेले प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपियाँसम्मको खरिद गर्नसक्ने पनि सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो । नेपाल बैङ्क लिमिटेड र सेन्चुरी बैङ्क, खल्ती वा ई–सेवामार्फत ‘ई–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था गरेको
कम्पनीले जनाएको छ ।
खाद्य कम्पनीले पहिलो चरणमा चक्रपथभित्र मात्रै अर्डर लिएर डेलिभरी सुरु गरेको र क्रमशः उपत्यकाका सबै ठाउँमा सेवा विस्तार गर्नेगरी तयार भइरहेको पनि उहाँको भनाइ छ । उहाँले कम्पनीमा आएको अर्डरलाई एक÷दुई दिनभित्रै सेवा दिइएको जनाइएको छ । खाद्य कम्पनीका चामल र कर्णालीका सिमी बजारको तुलनामा धेरै सस्तो मूल्यमा बिक्री गरिरहेको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।
हाल थोरै सामान बिक्री गरिरहेको खाद्य कम्पनीले विस्तारै ग्राहकको मागलाई ध्यानमा राखेर दालका परिकार पनि बिक्री गर्ने योजना बनाइसकेको जनाएको छ । कम्पनीका सूचना अधिकारी सुवेदीले दाल खरिदको विषयमा छलफल भइरहेकाले केही समय लाग्नसक्ने बताउनुभयो । सो कम्पनीका अनुसार हाललाई चक्रपथभित्र बसोबास गर्ने उपभोक्ताले नेपाल डट जीओभी डट एनपीमा लगइन गरी अर्डर गर्नसक्ने छन् ।
घुम्ती गाडी टोलटोलमा
साल्ट टे«डिङ कर्पोरेसनले पनि फोन वा फेसबुकमार्फत अर्डर लिएर नुन, चिनी, चामल, आँटा र मैदा घुम्ती गाडीमार्फत टोलटोलमा गएर बिक्री गरिरहेको छ । सो कर्पोरेसनका प्रवक्ता ब्रजेश झाले अर्डर आएपछि तीनवटा मोबाइल भ्यानमार्फत टोलटोलमा गई माइकिङ गरेर बिक्री गरिरहेको जानकारी दिनुभयो ।
मेट्रो तरकारी पनि अनलाइन
भान्सामै तरकारी पु¥याउने उद्देश्यले स्थापना भएको मेट्रो तरकारीलाई अचेल घरघरमा तरकारी पु¥याउन भ्याइनभ्याई छ । काठमाडौँ र ललितपुरमा सेवा दिइरहेको मेट्रो तरकारीले आलु, प्याज, गोलभेँडा, अदुवा, लसुन, काउली, बन्दा, सिमी, भान्टा, फर्सी, सागलगायतका तरकारी उपभोक्ताको घरसम्मै पु¥याउनका लागि न्यूनतम एक हजारको अर्डर हुनुपर्ने जनाएको छ । मेट्रो तरकारी डटकमको वेबसाइटमा तरकारी अर्डर गर्न सकिने छ ।