बुटवल समाचारदाता
बुटवल, वैशाख १२ गते । प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका कारण क्षति बेहोरेका किसानका लागि ५७ करोड रुपियाँको राहत प्याकेज ल्याउने तयारी गरेको छ । अहिलेको प्रतिकूल परिस्थितिमा दुग्ध उत्पादक, अण्डा, चल्ला र कुखुरा उत्पादकलगायतका किसान बढी मर्कामा परेको हुँदा उनीहरूलाई लक्षित गरी उक्त रकम बराबरको राहत वितरणको प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश ५ को कृषि वन तथा वातावरण समितिको वैठकमा समितिका सदस्यले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री आरती पौडेलले स्थानीय कृषि उत्पादन, वितरण, बजार व्यवस्थापन र पीडित किसानलाई राहत वितरणको कार्य अझै प्रभावकारी बनाउने विषयमा तयारी भइरहेको जानकारी दिनुभएको छ ।
त्यस अवसरमा उहाँले किसानलाई राहत दिन मन्त्रालयले ५७ करोड बराबरको राहत प्याकेज ल्याउने तयारी गरेको जानकारी दिँदै प्रक्रिया पूरा गरी किसानलाई वितरण गरिने बताउनुभयो ।
समितिका सदस्यले खेतीको मौसम नजिक आएको हुँदा मल, बीउ र कीटनाशक औषधि बिक्री गर्ने पसल तथा एग्रोभेट लकडाउनको अवधिमा समेत खुला गर्नुपर्ने, धानको बीउ, मललगायत अत्यावश्यक वस्तुको सरल र सहज उपलब्धता सुनिश्चित गर्नुपर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।
त्यसैगरी समितिका सदस्यहरूले फौजी कीराको प्रकोपका साथै केही दिनअघि प्रदेशमा आएको असिना पानीले पीडित किसानलाई मन्त्रालयले उपलब्ध गराउने राहत वितरणमा पीडित किसानलाई समेत सामेल गर्नुपर्नेलगायत ध्यानाकर्षण गराउनुभएको थियो ।