वसन्त पराजुली
भरतपुर, वैशाख १४ गते । बन्दाबन्दीले देशै ठप्प भएसँगै दुबई, कतारलगायतका देशमा तरकारी निर्यात रोकिएपछि किसान छविलाल न्यौपानेलाई अब के गर्ने भन्ने छटपटी भयो । बारीमा लटरम्म तरकारी फल्न थालेका बेला कोरोनाको त्रासले विश्व नै ठप्प भएपछिको जटिल परिस्थितिमा पनि उहाँले हरेस खानु भएन । बारीमा तरकारी कुहिरहेका बेला उहाँले भने काठमाडौँ, पोखरालगायतका सहरमा आफ्ना उत्पादन पठाइरहनुभएको छ ।
मेरो नियमित एक गाडी तरकारी दुबई, कतारलगायतका देशमा जान्थ्यो तर बन्दाबन्दीले रोकिएपछि देशभित्रै बजार खोजेँ । काठमाडौँ र पोखराका व्यवसायीलाई सम्पर्क गरेर तरकारी पठाउन थालेँ, उहाँले भन्नुभयो, “अहिले किसानका बारीमा तरकारीहरू कुहिइएको देख्दा निकै दुःख लाग्छ तर बजार पु¥याउनसक्ने हो भने तरकारी बिक्री गर्न कुनै समस्या छैन भन्ने मेरो अनुभवले भन्छ ।” विशेष त प्राङ्गारिक तरकारी उत्पादन गर्ने छविलालले आफूजस्ता झन्डै ७० जना किसानको नेतृत्व गर्नुभएको छ । उहाँले धम्पुस सामुदायिक कृषि सहकारीमार्फत ऋण लिएका किसानबाट अहिले भरतपुर महानगरपलिकाका २५ शुक्रनगर, २६ दिव्यनगर र २८ मेघौलीका ११ बिघा क्षेत्रफलमा प्राङ्गारिक तरकारी उत्पादन गरिरहनुभएको छ । उहाँको बारीमा अहिले पनि फर्सी, लौका, घिरौँला, बोडी, चिचिन्डा, टमाटर आदि तरकारी छन् ।
अहिले पनि हाम्रो बारीमा दैनिक एकदेखि दुई बोलेरो तरकारी उत्पादन भइरहेको छ । त्यो सबै कि त पोखरा जान्छ कि त काठमाडौँ, चार वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका न्यौपानेले भन्नुभयो । कतिपय किसानले चितवनको मात्रै बजार भरपर्दा तरकारी फ्याँक्नुपरेको उहाँको बुझाइ छ । बजार नेपालमा मात्रै नभई बाहिर पनि छ । बाहिर पठाउन नसकेका बेला यहीँको बजार खोज्नसक्ने हो भने दुःख पाउनुपर्दैन, उहाँको अनुभव छ ।
चितवनमा दुई हजार हेक्टरमा वर्षे तरकारी खेती गरिन्छ । जहाँ सिजनमा २२ हजार टन तरकारी उत्पादन हुने कृषि ज्ञान केन्द्र भरतपुरसँग तथ्याङ्क छ । यसरी उत्पादन भएका तरकारी बन्दाबन्दीकै अवस्थामा पनि कतिले छविलालले जसरी बजार खोजेर बिक्री गरिरहेका छन् भने कतिले बजारकै अभावमा फालिरहेका पाइन्छ ।