logo
२०८१ मंसिर १३ बिहीवार



विद्युत् उपकरण तथा कच्चा पदार्थ आपूर्ति सुचारु

अर्थ |


विद्युत् उपकरण तथा कच्चा पदार्थ आपूर्ति सुचारु


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, वैशाख १५ गते । बन्दाबन्दीका कारण भारतका विभिन्न भन्सार बिन्दु र राजमार्गमा रोकिएका सवारीसाधन भारत सरकारले सीमा नाकासम्म सहज रूपमा आउने व्यवस्था गरेको छ ।
विशेष गरी निर्माणसँग सम्बन्धित सामग्री बोेकेका सवारीसाधन राजमार्गमा आवतजावतका लागि सहजीकरण गरिदिन नेपाल सरकारले भारत सरकारसँग अनुरोध गरेपछि ती सामान सीमासम्म आउन थालेका हुन् । सामान अभावका कारण प्रभावित भएका विकासका काम भारतबाट सामान भित्रिएपछि अब सञ्चालन हुने बताइएको छ ।
जलविद्युत् आयोजनाका यन्त्र, उपकरण तथा आवश्यक सामानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कोइला, पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी तथा फलफूलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतका सम्बन्धित मन्त्रालयलाई आग्रह गरेपछि ती सामान धमाधम नेपाल भित्रिन थालेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरले भन्नुभयो, हामीले भारत सरकारले मागेको सवारीसाधनको अवस्था, सामानको विवरणलगायतका सूचना दिइसकेका छौँ । उनीहरूले त्यसलाई भेरिफाइ गरेर पठाउने काम गरिरहेका छन् । अब भारतमा रोकिएका सामान सहज रूपमा नेपाल आउनसक्ने भएका छन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रमुख विज्ञान श्रेष्ठका अनुसार आयोजनाका सामान ढुवानीका लागि प्रयोग भएका भारतका विभिन्न बिन्दुमा रोकिएका सवारीसाधन नेपाल आउने क्रम जारी रहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका अध्यक्ष शैलेन्द्र गुरागाईंले भन्नुभयो, उद्योगबाट हिँडेर नेपाली सीमा नाकासम्म आइनपुगेका र बाटोमा रोकिएका सवारीसाधन आएका छन् तर ती सामानले मात्र काम सुचारु नहुने भएकाले भारतीय उद्योगबाट पुनः लोड हुनेगरी सामान ल्याउने व्यवस्था मिलाउन हामीले नेपाल सरकारसँग आग्रह गरेका छौँ ।
सरकारको लगानी भएका माथिल्लो तामाकोसी, रसुवागढी, मध्यभोटेकोसी, साञ्जेनलगायतका जलविद्युत् आयोजनामा बन्दाबन्दीका बेला पनि काम भइरहेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा काम अगाडि बढाउन सिमेन्टको अभाव भएपछि हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट ढुवानी गर्ने काम भइरहेको छ । निजी क्षेत्रको लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा देशभित्र पाइने अत्यावश्यक सामग्रीको ढुवानीका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरेर ढुवानीको व्यवस्था मिलाएको जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा भारतले पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयाङ्कर सहज रूपमा आवतजावत गर्न दिएको छ । कोइलाको अभावमा इँटा उद्योग सञ्चालनको काम अवरुद्ध भएपछि मन्त्रालयको आग्रहमा भारतले सबै नाकाबाट नेपाल भित्रिने कोइला बोेकेका सवारीसाधन छोडिरहेको छ ।
नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले भन्नुभयो, कोइलाको अभावमा इँटा उद्योग सञ्चालनमा बाधा भइसकेपछि हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अनुरोध ग¥यौँ । केही दिनयता अहिले भारतबाट कोइला आउने क्रम सुचारु भइरहेको छ । उहाँका अनुसार अहिले काँकडभिट्टा, जोगबनी, रक्सौल, सुनौली, रुपडिया, गौरीफन्टा नाकाबाट कोइला आउने क्रम जारी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?