logo
२०८१ मंसिर १३ बिहीवार



मेलम्चीको काम रोकिएको छैन

अर्थ |


मेलम्चीको काम रोकिएको छैन


लक्ष्मण दर्नाल

काठमाडौँ, वैशाख २७ गते । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले मेलम्ची खानेपानी आयोजनाको कामको तीव्रता प्रभावित भए पनि काम भने रोकिएको छैन । गत चैत ११ गते बन्दाबन्दी सुरु भएपछि दैनिक काम गर्ने मजदुरको सङ्ख्या ५३ प्रतिशत घट्यो । बन्दाबन्दी सुरु भएपछि कोरोना भाइरसको त्रासले स्थानीय मजदुरहरू घर फर्किए । जसले गर्दा लक्ष्यअनुसारको दैनिक काम प्रभावित भएको छ ।
मेलम्ची खानोपानी विकास समितिका अनुसार बन्दाबन्दीअघि दैनिक तीन सय मजदुरले काम गरिरहेका थिए तर हाल १४४ जनाले काम गररहेको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभययो । उहाँका अनुसार मेलम्चीको ग्याल्थुममा ४६ जना, सिन्धमा ३५ र सुन्दरीजलमा १५ जना नेपाली मजदुरले काम गरिरहेका छन् । ४८ जना चिनियाँ मजदुर रहेका छन् । हेडवक्समा २८ जना, सिन्धुमा १० र ग्याल्थुममा १० जना चाइनिज मजदुरहरूले काम गरिरहेका छन ।
मजदुरको सङ्ख्या घटेपछि काम ढिलो भएको छ । जसले गर्दा तोकिएको समयमा आयोजना सम्पन्न हँुदैन कि भन्ने आशङ्का बढेको छ तर पन्त भन्नुहुन्छ, “हालको अवस्थामा हेर्दा तोकिएको समयमै काम सकिन्छ बरु ठेकेदार कम्पनीले तीन महिनाअगावै सकेर जुन बोनस खाने लक्ष्यसहित काम गरेको थियो यो सम्भव नहोलाजस्तो छ तर काम सकिन्छ । यदि लकडाउन लम्बियो, निर्माण सामग्री र मजदुरको अभाव भयो भने भन्न सकिने कुरै भएन । ”
मेलम्ची आयोजनाको हालसम्मको अवस्था भने सन्तोषजनक नै रहेको समितिको दाबी छ । हेडवक्स र सुरुङ सम्पन्न गर्ने सम्झौता २०७७ माघ सम्म हो तर सरकारले भने तत्काललाई अस्थायी ड्याम बनाएर चालू आर्थिक वर्षभित्रै मेलम्ची पानी ल्याउने तयारी गरेको थियो । बन्दाबन्दीअघि राम्रोसँग काम भएकाले अहिलेको अवस्थामा प्रभाव नपर्ने तर बन्दाबन्दी लम्बिए प्रभाव पार्नसक्ने पन्तको भनाइ छ ।
हाल सुरुङमा गेटहरू जडान गर्ने काम भइरहेको छ । आवश्यक सुरक्षा अपनाएर काम भइरहेको समितिले जनाएको छ । बाहिरबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने, मास्क, पन्जा प्रयोगका साथै व्यक्तिगत दूरी कायम राखेर पूर्ण सुरक्षाका साथ काम भइरहेको समितिले जनाएको छ ।
खानेपानी मन्त्रालयले एक महिनाअघि असारमा मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी काम भइरहेको भन्दै श्वेतपत्र जारी गरेको थियो । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले भन्नुभयो, “मजदुर थोरै भएका कारणले काम सुस्त भएको छ, पूर्ण क्षमतामा काम हुन पाएको छैन, लकडाउन कति प्रभाव भयो र अब के गर्नुपर्छ भनेर हामी रिभ्यु गर्दै छौँ । ”  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?