बेलिना थापा
लमजुङ, बैशाख २७ गते । लमजुङको क्व्होलासोंथर गाउँपालिका ४ भुजुङमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेहरु परम्परागत सीपतर्फ आकर्षित भएका छन् । त्रिभुवन माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्ने युवा र महिलाले भौतिक दुरी कायम गर्दै परम्परागत सीप सिक्ने गरेका छन् ।
युवाले निगालो काटेर चोया बनाउने, चित्रा बनाउने, डोको बुन्ने, स्याँखु बुन्नेलगायतको काम गर्दै आएका छन् । महिलाले गुन्द्री बुन्ने काम सिकेका छन् । उनीहरुलाई क्वारेन्टाइनमै बस्ने बुढापाका तथा सीप जानेकाले सिकाउने गर्छन् । क्वारेन्टाइनमा बस्दै आउनुभएका बोधबहादुर गुरुङका अनुसार क्वारेन्टाइन बस्ने धेरै विद्यार्थी छन् । भुजुङ घर भई पोखरामा अध्ययन गर्दै आएका विद्यार्थी तथा भाडामा बस्दै आएका स्थानीयलाई वडाले क्वारेन्टाइनमा राखेको हो । क्वारेन्टाइनमा यतिकै बस्नु भन्दा केही न केही सीप सिक्ने भन्दै सीप जानेकाले सिकाउने गरेको उहाँले बताउनुभयो । ‘वडाको नियम पालना गर्दै क्वारेन्टाइनमा बसेका छौं । यतिकै बस्नु भन्दा युवाले सीप सिक्ने रहर गर्न थाल्यो’ उहाँले भन्नुभयो, ‘इच्छुक युवालाई चित्रा, डोकोलगायतको घरेलु सामाग्री बनाउन सिकाएका छौं ।’
क्वारेन्टाइनमा बस्दै आउनुभएका कमल गुरुङका अनुसार क्वारेन्टाइन मै परम्परागत सीप सिक्ने गरिएको छ । गाउँका बुढापाकासंग पुख्र्यौैली सीप सिकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्वारेन्टाइनमा बस्दा के गर्ने, गर्ने हुन्थ्यो । आफ्नै परम्परागत सीप सिक्न मन लाग्यो । गाउँमा बुन्दै आएको डोको, मान्द्रोलगायत बुन्न सिकेका छौं । केही त बनाएर पनि गाउँमा पठाएका छौं ।’
उहाँका अनुसार परम्परागत सीपसंगै १०÷१२ जना युवाले लालीगुरास युवा क्लबको खेलमैदान मर्मत समेत गरेका छन् । उनीहरुले ढुंगा फुटाउने, ढुंगा बोक्ने, माटो सम्याउने गरी पर्खाल निर्माण गरिएको छ । खेलमैदानमा रहेको खाल्डाखुल्डी समेत उनीहरुले पुरेका छन् ।
पोखराबाट गाउँ आएका महिला, बालबालिका, बृद्धबृद्धासहित २६ जना विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका छन् । उनीहरुले आफ्नो इच्छा अनुसारको सामाजिक काम र सीप सिक्ने गरेका छन् । ५५ बर्षीय सुकबहादुर गुरुङले कोरोना संक्रमण फैलन नदिन वडाले बनाएको नियमलाई पालना गर्दै क्वारेन्टाइनमा बसेको बताउनुभयो । उहाँले यो समय युवालाई केही सिक्ने मौका समेत मिलेको बताउनुभयो । आफुले जानेको सिप युवालाई सिकाउने गरेको र युवाले पनि चासोका साथ सिकेको बताउनुभयो ।
स्थानीय नुनकाशी गुरुङले पोखराबाट आएर क्वारेन्टइनमा बसेको र यो समयको सदुपयोग गर्दै गुन्द्री बुन्ने गरेको र अरुलाई पनि सिकाउने गरेको बताउनुभयो । ५ वटा गुन्द्री निर्माण गरिसकिएको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा बस्दै आएकाहरुको कार्यलाई वडाका जनप्रतिनिधीले पनि प्रशंसा गर्न थालेका छन् । वडाध्यक्ष खिमबहादुर गुरुङले कोरोना भाइरस संक्रमण फैलन नदिन गाउँ आउने जो कसैलाई पनि क्वारेन्टाइनमा राख्ने गरेको बताउनुभयो ।
क्वारेन्टाइनमा बसेकाहरुले सामाजिक र सीप सिक्ने कार्य गरेकोमा यो उदाहरणीय रहेको बताउनुभयो ।
लकडाउन सुरु हुँदा पोखरामै रहेका स्थानीय लकडाउन लम्बिदै गएपछि गाउँ फर्किएको र उनीहरुलाई वडाले क्वारेन्टाइनमा राखेको हो । १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने उनीहरुले दिन काट्ने बाटो सीप र सामाजिक काम भएको छ । वडाले गाउँ प्रवेश गर्नेलाई अनिवार्य क्वारेन्टाइन राख्ने गरेको छ । नियम थाहा पाएर पनि अटेरी गरी आउनेलाई १० हजार जरिवानासहित क्वारेन्टाइन राख्ने गरिएको छ । अन्जानमा आएमा ५ हजार जरिवाना र क्वारेन्टाइन राखिने गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।