प्रकाशचन्द्र भट्टराई
दमौली, जेठ २ गते । तनहुँको भानु नगरपालिका–२ स्थित मझुवा ओख्ले सामुदायिक वन उपभोक्ता समितिले वनका उपभोक्ताहरूलाई निःशुल्क मौरीको घार वितरण गरेको छ । हावाहुरीका कारण वनमा ढलेका रुखको सदुपयोग गरी त्यसबाट मौरीको घार निर्माण गरी मौरी पाल्न इच्छुक उपभोक्तालाई घार वितरण गरिएको वन उपभोक्ता समुहका अध्यक्ष तोरणबहादुर अधिकारीले बताउनुभयो ।
ढलेपडेका रुखबाट ६० वटा घार निर्माण गरिएको र इच्छुक उपभोक्तालाई आवश्यकताअनुसार वितरण गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । बन्दाबन्दीको समयमा स्थानीय सीपयुक्त व्यक्तिबाट नै घार निर्माण गरिएको अधिकारीले जानकारी दिनुभयो । सामुदायिक वनलाई आयआर्जनको माध्यमको रुपमा लिइने हुँदा ढलेपडेका रुखलाई दाउरा बनाउनुभन्दा आय आर्जनको लागि मौरीको घार निर्माण गरिएको उहाँले बताउनुभयो ।
घार पाएपछि उपभोक्ताहरू पनि खुसी भएका छन् । वनका उपभोक्ता श्रीप्रसाद रेग्मीले अब आधुनिक घारमा मौरी पाल्ने चाहाना पुरा भएको बताउनुभयो ।