logo
२०८१ मंसिर १३ बिहीवार



लक्ष्यभन्दा तीन अर्ब ४८ करोड कम राजस्व सङ्कलन

अर्थ |


लक्ष्यभन्दा तीन अर्ब ४८ करोड कम राजस्व सङ्कलन



सिराज खान

नेपालगञ्ज, जेठ ४ गते । कोरोना भाइरस भित्रिन नदिन गरिएको बन्दाबन्दीले गर्दा पश्चिम नेपालको प्रमुख नाकाका रूपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन कार्य प्रभावित भएको छ ।
चालू आर्थिक वर्ष २०७६÷७७ को वैशाख मसान्तसम्म बन्दाबन्दीकै कारण भन्सार कार्यालयले लक्ष्यभन्दा तीन अर्ब ४८ करोड ५३ लाख २२ हजार रुपियाँ कम राजस्व सङ्कलन गरेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिनुभयो ।
भन्सार प्रमुख निरौलाका अनुसार सो अवधिमा १२ अर्ब ७६ करोड ८८ लाख ७३ हजार रुपियाँ राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य रहेकामा कुल नौ अर्ब २८ करोड ३५ लाख ५१ हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएको छ ।
बन्दाबन्दीका कारण चैत ११ गतेदेखि नै सीमा नाका बन्द गरिएपछि अत्यावश्यक वस्तुबाहेकको आयात निर्यात नहुँदा भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको हो ।
फागुन महिनासम्म मासिक एक अर्ब १५ करोडसम्मको हाराहारीमा राजस्व सङ्कलन हुँदै आएकामा चैत महिनामा ६८ करोड २६ लाख ८८ हजार र वैशाख महिनामा झनै घटेर ५१ करोड ८५ लाख ८३ हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएको भन्सार प्रमुख निरौलाले बताउनु भयो ।
उहाँले आर्थिक वर्ष २०७६÷७७ मा १५ अर्ब ४३ करोड ७५ लाख १४ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकामा अवस्था यस्तै रहने हो भने साढे १० अर्बको हाराहारीमा मात्र राजस्व सङ्कलन हुने अनुमान गरिएको बताउनुभयो । बन्दाबन्दीको समयमा पनि पेट्रोलियम पदार्थ, ग्यास, खाद्यान्न, तरकारीलगायत अत्यावश्यक वस्तुको आयात जारी रहेकाले आधाजति राजस्व सङ्कलन भइरहेको भन्सार कार्यालयको भनाइ छ ।
अत्यावश्यक वस्तुहरूको आयात जारी रहेकै कारणले राजस्व सङ्कलन केही मात्रामा हुने गरेको भन्सार प्रमुख निरौलाले बताउनुभयो ।
भन्सार कार्यालयका अनुसार चैत महिनामा बन्दाबन्दी सुरु भएदेखिको २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको थियो ।
यसैगरि वैशाख महिनामा पनि ४३ करोड ५० लाख रुपियाँको सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ । नेपालगञ्ज नाकाबाट भित्रिने खाद्यवस्तु, पेट्रोलियम र तरकारी प्रदेश ५ का बाँके, बर्दिया र कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट र जुम्लासम्म जाने गरेको छ ।
अत्यावश्यक वस्तुका गाडीलाई सीमा नाकामा सशस्त्र प्रहरीले स्यानिटाइज गर्नुका साथै आवश्यक चेकजाँच गरेर मात्रै भित्रिन दिने गरेको सशस्त्र प्रहरीका डीएसपी नवराज बोहोराले बताउनुभयो ।
उहाँले अत्यावश्यक सामान भित्रिन दिए पनि अन्य सवारीसाधन तथा आवागमन पूर्ण रूपमा बन्द गरिएको बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?