गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ११ गते । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दीबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार दाना र कुश्मास्थित खुर्कोटमा २२०÷१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि जारी छ । दुवै सबस्टेसनका अधिकांश उपकरण जडान भइसकेका छन् ।
दाना—कुश्मा खण्ड यही असारभित्रमा सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । यस प्रसारण लाइनमा निजी क्षेत्रका निर्माणाधीन ४२ मेगावाटको मिस्त्री खोला, मुस्ताङमा सञ्चालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । अहिले थापा खोलाको विद्युत् ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ ।
घिसिङले भन्नुभयो, “वैशाखभित्रमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको थियो तर लकडाउनले निर्माण प्रभावित हुनपुग्यो, केही ठाउँमा देखिएको अवरोध खुलाएर काम सुरु गर्न म्याग्दी तथा पर्वतका प्रमुख जिल्ला अधिकारीहरू र स्थानीय तहका प्रमुखहरूको दह्रो साथ र सहयोग पाएका छौँ, असारभित्र जसरी पनि चार्ज गर्नेगरी टिम खटिएको छ ।” ३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत ११० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा एउटा टावर खडा गर्न बाँकी छ ।
म्याग्दी र पर्वतमा गरी करिब तीन किलोमिटर मात्रै तार टाँग्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो । उहाँले असारभित्र जसरी पनि चार्ज गरिने बताउनुभयो ।
कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो ।