भक्तिविलास पोखरेल
जलजले (उदयपुर), जेठ १६ गते । कोरोना भाइरससँग लड्न सरकारले घोषाणा गरेको लकडाउनसँगै बन्द भएको उदयपुर सिमेन्ट उद्योग शुक्रबारबाट सञ्चालन भएको छ । दैनिक १२ हजार बोरा उच्च गुणस्तरको गैँडाछाप सिमेन्ट उत्पादन गर्दैआएको उद्योग ६५ दिने बन्दपछि आजदेखि सञ्चालन भएको हो ।
प्रतिबोरा ८०३ रुपियाँ ४३ पैसाको द्वार मूल्य रहेको उदयपुर सिमेन्ट उद्योगलाई एक दिन मात्र बन्द हुँदा पनि ९६ लाख ४१ हजार १६० रुपियाँ घाटा हुने गर्दछ । यस अनुसार लकडाउनमा भएको ६५ दिन लामो बन्दबाट ६२ करोड ६६ लाख ७५ हजार चारसय रुपियाँ घाटा भएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताउनुभयो । तथापि स्थानीय बजारहरूमा सिमेन्टको अभाव हुन नदिन बन्दाबन्दीको समयमा पनि उद्योगको भकारीमा सुरक्षित रहेको आठ करोड ३४ लाख रुपियाँ बराबरको एक लाख बोरा गैँडा सिमेन्ट बिक्री गरिएको उद्योगका बिक्री विभाग प्रमुख रामबहादुर जिसीले बताउनुभयो
दुई सय वर्षभन्दा बढी समयका लागि उत्खनन गर्न पुग्ने अपार खानीभण्डार सुरक्षित भएको उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार दैनिक १२ हजार बोरा क्लिङ्कर उत्पादन र बिक्री गर्दैआएकोमा लकडाउनका कारण मुलुकभरको विकास निर्माण ठप्प भएसँगै सिमेन्टको बिक्री पनि ठप्प भएको थियो ।
तर पछिल्लो समय सरकारले ठूला आयोजनाहरूको विकास निर्माणलाई निरन्तरता दिने निर्णय गरेसँगै उद्योगमा मौज्दात रहेको आठ करोड ३४ लाख रुपियाँकोे करिब एक लाख बोरा सिमेन्ट पछिल्लो दुई साताभित्रै बिक्री भएको उद्योगका बिक्री विभाग प्रमुख जिसीले बताउनुभयो ।
प्याकिङ भएर ट्रकमा लोडिङ् नगरिँदासम्म उद्योगको भकारीमा सुरक्षित रहने विशेषता भएकोले यसको गुणस्तरमा कुनै कमी नहुने र लोड भएर बिक्रीका लागि बाहिर गएपछि उपभोक्तासम्म पुग्दा पनि पानी र चिसोबाट जोगाउन सके वर्षाैँसम्म गैँडाछाप सिमेन्टको गुणस्तरमा कुनै कमी नआउने महाप्रबन्धक शाह बताउनुहुन्छ ।
जापानी प्रविधिबाट उत्पादित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उच्च गुणस्तरको भएकोले पानीको ओस नलागेसम्म वर्षाैंसम्म यसको गुणमा कुनै कमी वा ह्रास नहुने तथा उद्योगका दुई वटै ठूला भकारी त्यस्तो ओस वा पानीको चिस्यानबाट सुरक्षित रहेकोले सिमेन्ट ड्यामेज हुन्छ कि भन्ने कुनै चिन्ता नरहेको सूचना अधिकारी जिसीले बताउनुभयो ।
उद्योग सञ्चालन गर्न नभई नहुने कोइलाको आपूर्ति वीरगञ्जबाट सहज रुपमा भइरहेकोले सामाजिक दूरी कायम गरी मास्क, स्यानिटाइजर, ग्लोव्स् लगायतका सुरक्षा सामग्रीहरूको प्रयोग गरी उच्च स्वास्थ्य सतर्कता अपनाएर सिमेन्ट उद्योग सुचारु गरिएको महाप्रबन्धक शाहले बताउनुभयो ।