गोकर्ण पौडेल
तुलसीपुर, असार ३ गते । सिम्ठारो धान दाङ जिल्लामा पाइने रैथाने जातको धान हो । पाँच दशकअघि प्रशस्त मात्रामा पाइने सिम्ठारो अहिले भने कहीँकतै मात्रै पाइने गरेको छ । दाङ जिल्लाको चिनारीका रुपमा रहेको सिम्ठारो धान बचाइराख्नका लागि यहाँका किसानहरूले व्यवसायिक रुपमा खेती गर्न थालेका छन् ।
अन्य जातको धानको चामल मधुमेहलगायत रोगका बिरामीलाई खान नहुने भएपनि सिम्ठारो धानको चामल प्रयोग गर्दा कुनै समस्या नदेखिने आयुर्वेद शास्त्रका जानकार कविराज नारायण पौडेल बताउनुहुन्छ ।
रैथाने जातको प्रवर्धन अन्तर्गत सिम्ठारो धानलगायत रैथाने जातको अन्नबाली खेती प्रोत्साहनका लागि कृषि ज्ञान केन्द्रले मल, बीउ, यान्त्रीकरणमा सहयोग पुर्याउँदैआएको कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा रहेको जैविक विविधता संरक्षण सहकारी संस्थाले पनि किसानहरूले जग्गा चख्लाबन्दी गर्दै सिम्ठारो धानको खेती सुरु गरेको संस्थाका अध्यक्ष राममणि पाण्डेले जानकारी दिनुभयो ।
पर्यावरणको क्षेत्रमा काम गर्दै आएको पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले यसै वर्ष दश लम्बर सिम्ठारो धानको बीउ खरिद गरी किसानहरूलाई वितरण गरेको छ । किसानले उत्पादन गरेको धान खरिद गर्ने सर्तमा किसानहरूलाई सिम्ठारो धानको बीउ दश जना किसानहरूलाई वितरण गरिएको संस्थाका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।
संस्थालाई किसानहरूले भने धान उत्पादन गरेपछि बीउ फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । संस्थाका अध्यक्ष डिल्लीबहादुर रावतले भन्नुभयो, ‘यो वर्ष बीउ लैजानुभएका किसानहरूले अर्को वर्ष फिर्ता दिँदा अरु किसानहरूलाई वितरण गर्न सहज हुने भएकाले यसो गरेका हौँ ।’ सिम्ठारो धानको हालको बजार भाउ प्रतिक्विन्टल २० हजार रुपियाँ रहेको छ । जिल्लामा रैथाने जात तिल्की, सिम्ठारो, झिनुवा,अनदी धान किसानहरूले आफूले उपभोगका लागि मात्रै उत्पादन गर्ने गरेका छन् । सिम्ठारो धानका सामान्य पानी र मल भए उत्पादन दिने किसान दुर्गाबहादुर खत्रीले बताउनुभयो । जिल्लामा ३६ हजार पाँच सय हेक्टरमा धान लगाउने गरिएको छ ।