राधा चालिसे
काठमाडौँ, असार ६ गते । बन्दाबन्दीले विभिन्न क्षेत्रमा नकारात्मक असर पारे पनि विद्युतीय भुक्तानी कारोबार भने बढाएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालु आवको १० महिनाका प्रतिवेदनमा सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र सङ्ख्या दुवै बढेको देखिएको छ । प्रतिवेदन अनुसार २०७६ चैतमा एटीएमबाट कारोबार गर्नेको सङ्ख्या १० लाख ३७ हजार ९०१ रहेकोमा २०७७ वैशाखमा यो सङ्ख्या बढेर ३० लाख बीस हजारभन्दा बढी पुगेको छ । त्यस्तै जेठमा २५ लाख २० हजार ५१७ पुगेको छ ।
त्यस्तै कारोबार रकम पनि बढेको छ । गत वर्षको चैतमा नौ अर्ब चार करोड ६० लाख रुपियाँ कारोबार भएकोमा वैशाखमा २३ अर्ब १५ कारोड ७० लाख रुपियाँभन्दा बढीको कारोबार भएको थियो ।
बन्दाबन्दीका कारण घरबाट बाहिर निस्कन नपाएपछि मोबाइल बैङ्किङको सेवा लिनेको सङ्ख्या पनि बढेको छ । २०७६ चैतमा ३२ लाख ८२ हजार ३१८ जनाले यस्तो सुविधा लिएका थिए भने वैशाखमा यो सङ्ख्या बढेर ४९ लाख ६० हजार २७७
जनाले लिएको पाइन्छ ।
जेठमा पनि साढे ४२ हजारभन्दा बढी व्यक्तिले मोबाइल बैङ्किङको सेवा उपभोग गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तो सेवाको उपयोगबाट कारोबार रकममा पनि उल्लेख वृद्धि भएको छ । गत चैतमा मोबाइल बैङ्किङबाट पाँच अर्ब ३९ करोड रुपियाँ कारोबार भएकोमा जेठमा आइपुग्दा १२ अर्ब २७ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ । समीक्षा अवधिमा इन्टरनेट बैङ्किङ, रियल टाइम ग्रस सेटलमेन्ट (आटीजीएस), इलेक्ट्रोनिक चेक क्लियरेन्स (इसीसी)को कारोबार भने
घटेको छ ।
आइपीएसमार्फत हुने कारोबार चैतको तुलनामा वैशाखमा केही बढेको छ । कारोबार गर्नेको सङ्ख्यामा भने केही कमी आएको छ । बैङ्किङ कारोबारका लागि पछिल्लो समय विकास भएको कनेक्ट आईपीएसमार्फत हुने भुक्तानी बढेको छ ।
गत चैतमा १३ अर्ब ८१ करोढ ५० लाख रुपियाँको कारोबार भएको थियो भने वैशाखमा बढेर २३ अर्ब १५ करोड ३० लाख रुपियाँभन्दा बढीको कारोबार यसमार्फत भएको प्रतिवेदनमा उल्लेख छ । यो सेवा उपयोग गर्नेको सङ्ख्या पनि चैतमा करिब दुई लाख ३५ हजार ९९३ रहेकोमा वैशाखमा आइपुग्दा तीन लाख ९६ हजारभन्दा बढी भएको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो समय राष्ट्र बैङ्कले पनि विद्युतीय कारोबारलाई प्रोत्साहन दिँदै कारोबार गर्ने रकमको सीमासमेत बढाएको छ । बन्दाबन्दीमा बैङ्कहरूले जुनसुकै बैङ्कको एटीएमबाट रकम झिके पनि कुनै शुल्क नलाग्ने गरी सुविधा दिँदै आएका छन् ।