शिवशङ्कर मिश्र ।
बारा, असार ६ गते । धुवाँधुलोको कारण श्वासप्रश्वास समस्याको जोखिममा रहेका नगर क्षेत्रका गृहिणीलाई जोगाउन तथा नगरक्षेत्रको प्रदूषण नियन्त्रण गर्न महागढीमाई नगरपालिकाले अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाले अभियानअन्तर्गत नगरक्षेत्रको खुला स्थान र सडक किनारमा वृक्षारोपण गर्ने, खाना पकाउँदा चुल्होबाट निस्कने धुवाँलाई न्यूनीकरण गर्न करिब अढाई हजार परिवारको महिलालाई ग्यासको प्रयोग गर्न प्रोत्साहन गर्न थालिएको छ ।
पहिलो चरणमा महागढीमाई नगरपालिकाको वडा नम्बर–१ र २ का गृहणीलाई नमूनाको रुपमा १५ किलो ग्यासले भरिएको सिलिण्डर वितरण गरिएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बताउनुभयो ।
दाउराबाट खाना बनाउदा धुवाँधुलोले उनीहरूको स्वास्थ्यमा असर पार्दै आएको प्रतिकूलतालाई न्यूनीकरण गर्न ग्यास सिलिण्डर वितरण गरिएको हो । ग्यास खरिदमा करिब ८० लाख रुपियाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
महिलाको लागि यसरी वितरण गरिएको ग्याससहितको सिलिण्डरले धेरै फाईदा पुग्ने सोही ठाउँकी ललिता देवीले बताउनुभयो । बढ्दो प्राविधिक जमानामा पनि दाउराले दिनहुँ खाना बनाउँदै आएकोमा मेयर यादवको यस्तो कार्यक्रमले धुवाँधुलोबाट महिला सुरिक्षत भएको ललितादेवीले बताउनुभयाे ।