logo
२०८१ मंसिर १४ शुक्रवार



रोपाइँ सुरू, छैन मल

अर्थ |


रोपाइँ सुरू, छैन मल


गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ७ गते । भारतमा युरिया र डीएपी रासायनिक मल रोकिएका कारण नेपालमा मलको हाहाकार देखिएको छ । मनसुन सुरु भएसँगै धान रोपाइँ सुरु भएको छ । धान रोपाइँसँगै मलको माग अत्यधिक बढेको छ तर भारतबाट सम्पूर्ण मल आइनसकेका कारण मलको अभाव देखिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले कोरोना–१९ (कोरोना भाइरस)को रोकथामका लागि लगाइएको बन्दाबन्दीका कारण मल आयातमा समस्या भइरहेको बताउनुभयो । कोलकाता बन्दरगाहबाट ढिलो हुन्छ भनेर गुजरात हुँदै ल्याउन खोजेकामा त्यहाँबाट पनि आउन ढिलाइ भइरहेको उहाँले बताउनुभयो ।
कोलकाता बन्दरगाहमा रहेको ५० हजार मेट्रिक टन मलमध्ये ३० हजार मेट्रिक टन डीएपी मल यसअघि नै आइसकेको जनाइएको छ । त्यसमध्ये केही वितरण पनि भइसकेको छ । बाँकीमध्ये पाँच हजार मेट्रिक टन यही हप्ताभित्र आइपुग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोलकातामा रहेको सम्पूर्ण मल असार १५ गतेभित्र आइपुग्नेछ । ”
अहिले रोपाइँको समयमा चाहिने डीएपी मल नै हो तर त्यसको खासै अभाव छैन तर युरिया मल सस्तो भएको हुनाले त्यसको माग बढेको छ तर गुजरातमा २१ हजार मेट्रिक टन मल थन्किएपछि यहाँ अलिअलि अभाव देखिएको उहाँले बताउनुभयो ।
गुजरातबाट मल ल्याउने पहल भइरहेको छ, परराष्ट्र मन्त्रालय र भारतमा रहेको नेपाली राजदूतावासमार्फत कुराकानी अगाडि बढेको तैपनि ढिला भइरहेको उहाँले बताउनुभयो । अरू मलका लागि टेन्डर भएर त्यो पनि ल्याउने प्रक्रिया पनि सुरु भएको छ । अहिले प्रक्रिया सुरु भए पनि एक÷डेढ महिनापछि मात्र आइपुग्ने उहाँले बताउनुभयो ।
रासायनिक अनुदान मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गर्दै आएका छन् । यी दुई कम्पनीले ग्लोबल टेन्डरमार्फत मल खरिद गर्छन् । ग्लोबल टेन्डरमार्फत आयात गर्दा पाँचदेखि छ महिना लाग्ने गरेको छ ।
सरकारले मलको अभाव नहोस् भनेर प्रत्येक वर्ष रासायनिक मलमा अनुदान वृद्धि गर्दै आएको छ तर प्रत्येक साल यो बेला मलको हाहाकार हुँदै आएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?