logo
२०८१ मंसिर १४ शुक्रवार

  सम्पन्न हुँदै ४० मेगावाटको खानीखोला आयोजना  



भर्टिकल पाइप राख्ने काम सफल, मङ्सिरमा उत्पादन थाल्ने

अर्थ |
पढ्नै पर्ने |


भर्टिकल पाइप राख्ने काम सफल, मङ्सिरमा उत्पादन थाल्ने


कैलाश लामा
चरिकोट, असार ८ गते । दोलखाको गौरीशङ्कर गाउँपालिकास्थित उच्च हिमाली क्षेत्रमा निर्माणाधीन खानीखोला–१ जलविद्युत आयोजनाको सबैभन्दा जटिल भर्टिकल सुरङमा पेनस्टक पाइप राख्ने काम सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर –७ मार्बुस्थित कोप्लाङमा निर्माणाधीन ४० मेगावाट आयोजनाको निकै जटिल र पटकपटक आयोजनालाई समेत पछाडि धकेल्ने गरेको भर्टिकल सुरुङमा पेनस्टक पाइप राख्ने काम सकिएसँगै आयोजना सम्पन्न हुने मिति नजिकिएको छ ।

दुई दशमलव दुई डायमिटरको भर्टिकल साफ्टमा पेनस्टक पाइप राख्ने काम आइतबार सम्पन्न भएको आयोजनाको म्यानेजिङ डाइरेक्टर तेन्जिङ लामाले जानकारी दिनुभयो ।
उहाँले मान्छे नै छिर्न नसक्ने २७८ मिटरको लामो ठाडो सुरुङमा हालसम्मकै उच्च प्रधिविधिबाट पेनस्टक पाइप राख्न सफल भएको बताउनुभयो । भर्टिकल साफ्टमा माथिबाट तलतिर मोटाइ बढाएर २६ मिलिमिटरदेखि ३८ मिटर सम्मको मोटाइ भएको पाइप राखिएको छ ।
हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनामा कुनै समस्या नआए मङ्सिरसम्म उत्पादन थाल्ने बताउँदै म्यानेजिङ डाइरेक्टर लामाले आयोजना निर्माण पश्चात् हाल भइरहेको विद्युत सङ्कट हटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र हाईड्रोपावरका लगानीकर्ताहरूको लागि अध्ययन र अनुसन्धानका निम्ति उपयुक्त गन्तव्य बन्ने दाबी गर्नुभयो ।
सदरमुकाम चरिकोटबाट करिब ६३ किलोमिटर उत्तरतर्फको विकट हिमाली क्षेत्रमा निर्माणाधीन यो आयोजनाको निर्माण कार्य ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडले २०६६ सालदेखि सुरु गरेको थियो । भोर्ले र गुरुङफी दुई ठाउँमा बेलीब्रिज राखेर उच्च हिमाली क्षेत्रमा करिब २९ किलोमिटर सडक निर्माण गरेर सामान ढुवानी गर्नुपर्ने भएकाले पनि आयोजनाको निर्माण अवधि लम्बिएको थियो । पछिल्लो समय नेपालकै सबैभन्दा लामो र जटिल भर्टिकल साफ्टमा पेनस्टक पाइप राख्ने कामले आयोजना बन्ने समयपछि धकेलिँदैआएको थियो ।
भौगोलिक कठिनाइ र हिउँले मुस्किलले छ महिना मात्रै काम गर्न सकिने यस आयोजनाको इनटेक, डिस्याण्डर बेसिन र साढे दुई किलोमिटरको हेडसेर र सरफेस टनेलको काम अन्तिम चरणमा पुगेको छ ।
त्यसैगरी, दुई सय मिटर भित्रको भूमिगत पावर हाउस रहेको आयोजनाको हाइड्रो मेकानिकलको कामसमेत अन्तिम चरणमा पुगेको छ भने पावरहाउसदेखि सिङ्गटी सबस्टेशनसम्मको प्रसारण लाइनको कामसमेत कात्तिकसम्म सम्पन्न गर्नेगरी भइरहेको छ ।
हाल ४० मेगावाट नै विद्युत उत्पादन गर्ने संरचना बन्दैगरेको भए पनि मङ्सिरसम्म २५ मेगावाट विद्युत उत्पादन गरिसक्ने र थप १५ मेगावाटको लागि हनपु खोलामा काम सुरु हुने बताइएको छ ।
समुद्री सतहबाट करिब ३४ सय मिटरको उचाइमा निर्माणाधीन आयोजनमा निर्माण सम्पन्न भईसक्दा आयोजनाको लागत करिब साढे छ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको आयोजनाले छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?