logo
२०८१ मंसिर १३ बिहीवार



भैरहवामा फल्न थाल्यो अष्ट्रेलियन स्याउ

अर्थ |


भैरहवामा फल्न थाल्यो अष्ट्रेलियन स्याउ


लक्ष्मण पौडेल
भैरहवा, असार ८ गते । सामान्यतः स्याउलाई आवश्यक पर्ने हावापानी हिमालमा पाइन्छ । तर हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ प्रचण्ड गर्मी हुने तराईमा समेत फलेको छ । भैरहवा पश्चिम भुजौली गाउँमा रहेको लुम्बिनी अर्गानिक एण्ड रिसर्च सेन्टरमा गत वर्ष लगाइएको अष्ट्रेलियन नानो जातको स्याउ फल्न थालेको छ । सात बिगाहा जग्गामा तीन वटा ब्लकमा आधुनिक प्रविधि प्रयोग गरेर मल्टी फार्मिङ गर्नुभएका फार्म सञ्चालक आशा गुरुङले तीन बिगाहाको एउटा ब्लकमा स्याउसहित २८ थरी फलफूल खेती गर्नुभएको छ । जसमध्ये अष्ट्रेलियन जातको नानो स्याउका छ सय बिरुवा छन् ।

यो ४८ डिग्री तापक्रम हुने ठाउँमा पनि फल लाग्ने प्रजातिको स्याउ भएकाले तराई क्षेत्रमा जोखिम मोलेर व्यावसायिक खेती गरेको गुरुङले बताउनुभयो । बिरुवा रोपेको दोस्रो वर्षमै स्याउ फल्न लागेपछि यही वर्ष पुससम्म पाँच हजार बिरुवा रोप्ने उहाँको तयारी छ ।
अरु स्याउको सिजन सकिएपछि फल्ने प्रजातिको भएकाले बजारको समस्या नहुने गुरुङको भनाइ छ । “अरु जातको स्याउ असोज महिनाबाट फल्न सुरु हुन्छ, तर यो स्याउ भने पुसको तेस्रो साताबाट फल्न सुरु भई वैशाखसम्म उत्पादन हुन्छ,” गुरुङले भन्नुभयो, “फल लाग्न थालेको अर्को वर्ष प्रतिबिरुवा २५ केजी र त्यसपछिका वर्षहरूमा सय केजी तौल बराबरको उत्पादन दिन्छ ।”

जर्मनीमा रोजगारमा रहँदा गर्मी मौसमको ठाउँमा पनि स्याउ र स्ट्रबेरी खेती गर्न सकिने देख्नुभएका उहाँले दुई दशकपछि आफ्नै थलोमा देखेको कुरा व्यवहारमा उतारेको स्मरण गर्नुभयो । प्रतिगोटा १७ सय रुपियाँमा आफूले स्याउको बिरुवा आयात गरेको र खाल्डो खन्न, मल र मजदुरसमेत खर्च गर्दा प्रतिबिरुवा करिब दुई हजार रुपियाँका दरले लगानी भएको गुरुङले जानकारी दिनुभयो । तर धेरै परिमाणमा खेती गर्दा लागत सस्तो पर्न जाने उहाँको भनाइ छ । भविष्यमा बिरुवासमेत तयार गरी बिक्री गर्ने गुरुङको योजना छ । अष्ट्रेलियन नानो स्याउको बोट बढीमा सात फिट उचाइको हुने उहाँले बताउनुभयो ।

पक्लिहवा माविको जग्गा २० वर्षका लागि लिजमा लिएर हालसम्म दुई करोड लगानी गर्नुभएका गुरुङको फार्ममा एउटा ब्लकमा २१ थरी तरकारीको खेती छ । गुरुङको फार्मलाई प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १२ लाख ५० हजार र सिद्धार्थनगर नगरपालिकाले दुई लाख ५० हजार रुपियाँ अनुदान दिएका छन् । रामप्रसाद खनालको समेत लगानी रहेको फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अर्को प्लटमा बाख्रा, लोकल कुखुरा र हाँस पाल्न आधुनिक खोर तथा माछा पाल्नका लागि पोखरीहरू बन्दैछन् । फार्ममा ड्रागन फ्रुटका १५ सय बिरुवा लगाइएको छ भने आँपका छ सय बिरुवा हुर्कँदैछन् । मेवा र केराका तीन/तीन हजार बोट छन् । यस्तै स्ट्रबेरीका चार हजार ५०० बिरुवा छन् । स्ट्रबेरीको व्यावसायिक खेती झापा, काठमाडौँ र विराटनगरपछि भैरहवामा गुरुङले भित्र्याउनुभएको हो । स्ट्रबेरीकाे खेतीको व्यावसायिक उत्पादन सुरु भइसकेको छ ।

फार्ममा एप्पल बयर, वाटर, एबोकार्डो, सलिफा, सिडलेस लिची, थाई कागती, नासपाती, अमला, पहाडी उखु, गोल्डेन लेमन, ब्लु बेरी, मलबेरी, नागपुरे सुन्तला, बाह्रै महिना फल्ने बङ्गलादेशी जातको कटहर, अनारलगायत २८ जातका फलफूलका पाँच हजार बिरुवा रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?