गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १० गते । कोभिड–१९ (कोरोना भाइरस) रोकथामका लागि गरिएको बन्दाबन्दीको अवधिमा अण्डाको मूल्य तीनपटक वृद्धि भएको छ ।
अण्डा उत्पादक सङ्घले बुधबार मात्र प्रतिक्यारेट २० रुपियाँको दरले अण्डाको मूल्य वृद्धि गरेको छ । यसअघि २८५ रुपियाँमा किसानको फर्मबाट बिक्री हुने अण्डा अहिले ३०५ रुपियाँ पु¥याएको छ । त्यही अण्डा उपभोक्ताको भन्सासम्म पुग्दा क्यारेटको ३५०–३६० रुपियाँ पुग्ने सङ्घका अध्यक्ष शिवराम केसीले बताउनुभयो ।
अहिले कुखुरा उत्पादन कम भएको कारणले अण्डा उत्पादन कमी आएको छ । पछिल्लो समय बन्दाबन्दी खुकुलो भएपछि अण्डाको मागमा पनि वृद्धि भएको हुनाले यो मूल्य वृद्धि भएको उहाँले बताउनुभयो ।
उत्पादन कम र माग बढी भएको कारण मूल्य वृद्धि भएको सङ्घका महासचिव प्रवीण केसीले बताउनुभयो । किसानलाई एउटा अण्डा उत्पादन लागत खर्च ११ रुपियाँ ५३ पैसा पर्छ तर उसले १० रुपियाँ ३७ पैसा मात्र पाउने गरेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, अहिले पनि किसानले एक रुपियाँ ३७ पैसा घाटामा अण्डा बेचिरहेका छन् । ’ बन्दाबन्दी सुरु हुने बित्तिकै दानाको समस्या भयो । दानाको समस्या हुने बित्तिकै कुखुरामा असर प¥यो । त्यसले अण्डा उत्पादनमा समेत असर पारेको कारण अहिले अण्डा उत्पादन कम भएको उहाँले बताउनुभयो ।
सुरुमा अण्डा प्रसस्त थियो तर खाने उपभोक्ता नै थिएनन्, त्यतिबेला क्यारेटको २४०–२६० सम्म पनि पुगेको थियो । अहिले उपभोक्ता बढेपछि पहिलाको तुलनामा अण्डा उत्पादन कम छ । उत्पादन कम छ, माग बढी छ त्यही भएर मूल्य वृद्धि भएको छ । यद्यपि अहिले जति उत्पादन हुन्छ, त्यसले लगभग पुग्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, उपभोक्ता दिनदिनै बढ्दै छन् तर अण्डाको उत्पादन कम हुँदै गइरहेको छ, यस अनुपातमा अण्डाको मूल्य अझै वृद्धि हुने निश्चित छ । ’
बन्दाबन्दी भन्दा पहिला दैनिक ४२ लाखवटा अण्डा उत्पादन हुन्थ्यो । त्यसमा ४० लाख खपत हुन्थ्यो । दुई लाख बढी नै हुन्थ्यो । अहिले दैनिक १८ लाख मात्र अण्डा उत्पादन हुन्छ तर लगभग २५ लाख अण्डा खपत भइरहेको महासचिव केसीले जानकारी दिनुभयो । सात लाख अण्डा कम देखिन्छ तर यसैबाट मिलाउने काम भइरहेको उहाँले बताउनुभयो ।