नेत्र शाही
खलङ्गा, असार १० गते । बन्दाबन्दीकै बीच जुम्लामा करिब ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको सिञ्जा, पाँच सय, चौध बीस र असी दराको रोपाइँ हुने क्षेत्रमा कालीमार्सीसहित विभिन्न धानको रोपाइँ भएको छ ।
कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाका अनुसार यस वर्ष जिल्लामा दुई हजार ७५० हेक्टर जमिनमा धान रोपिएको अनुमान छ । यसैगरी एक हजार तीन सय हेक्टरमा कालीमार्सी रोपिने गरेको उहाँले जानकारी दिनुभयो ।
चन्दननाथ र गुठी चौरमा पूरै रोपिसकिएको छ भने कुडारी, रारालिही र सिञ्जामा केही रोपाइँ हुन बाँकी छ । मार्सी धेरै रोपिने क्षेत्र सिञ्जामा असार १० गतेसम्म पनि रोपाइँ चल्ने गरेको छ ।
यसैगरी जिल्लाको पाँच सय क्षेत्र मार्सी धानको उत्पादन सुरु भएको स्थान तातोपानीमा पनि रोपाइँ सम्पन्न भएको छ । मार्सी धानको बजार बढेपछि अहिले रोपाइँ क्षेत्र बढ्दै
आएको छ ।
अघिल्ला वर्षमा उत्साहपूर्वक मनाइने रोपाइँ अहिले भने सामाजिक दूरी कायम गर्दै भएको छ । अघिल्ला वर्षमा बाजागाजासहित रमाइलो गर्दै रोपिने खेत यस वर्ष सुनसान हुनुका साथै कतिपय स्थानमा मास्क लगाएर रोपाइँ गरिएको छ । यसैगरी एक अर्काको रोपाइँमा पालो पर्म गरेर गरिने रोपाइँ आफ्नै परिवारका सदस्यले मात्रै गरेका छन् ।