logo
२०८१ मंसिर १५ शनिवार



समयमै धान रोपाइँ गर्न पाएकोमा सिरहाका कृषक खुशी

अर्थ |


समयमै धान रोपाइँ गर्न पाएकोमा सिरहाका कृषक खुशी


सन्तोष सुवेदी
सिरहा, असार १२ गते । प्रत्येक वर्षको असार १५ लाई रोपाइँ सुरु हुने दिनको रुपमा लिइन्छ तर असार १५ आउनुपूर्व नै सिरहामा यसपालि २० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । समयमै राेपाइँ गर्न पाएकोमा सिरहाका कृषक खुशी छन् ।
यसपालि जेठको मध्यदेखि नै मौसमले साथ दिएर पानी परेपछि सिरहाका किसानले समयमै बेर्ना लगाई असारको पहिलो सातादेखि नै धान राेपाइँ सुरु गरेका छन् ।

वर्षाले खेतको गरा गरामा पानी पुगेपछि सिरहाका किसानलाई अहिले धान खेतीको चटारो परेको छ । विगतका वर्षहरूमा वर्षाको अभावमा समयमा राेपाइँ गर्न नपाउने सिरहाका किसानले यसपालि वर्षाले साथ दिएपछि असारको पहिलो सातादेखि नै सबै काम छोडेर धान खेतीमै समय दिन थालेका छन् । सोही कारण कुनै किसानले आफ्नो खेतमा राेपाइँ गरिसके भने कसैले भिजेको माटोमा हलो जोत्दैछन् ।

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले सिरहाको २० प्रतिशत भूभागमा अहिले नै धानको राेपाइँ भइसकेको जानकारी दिनुभएको छ । ‘साधारणतया असार १५ देखि राेपाइँ सुरु हुने यस क्षेत्रमा पानी पर्नेबित्तिकै किसानले असार १५ पनि पर्खदैनन्’, केन्द्रका प्रमुख यादवले भन्नुभयो, ‘सिरहाको अधिकांश भागमा सिंचाईको अभाव छ, त्यसैले आकाशले साथ दिनेबित्तिकै किसानको ध्यान धान खेतीतर्फ नै केन्द्रित हुन्छ ।’

कुल एक लाख २२ हजार ७९७ हेक्टर भूभाग रहेको सिरहामा ७३ हजार ९१३ दशमलव पाँच हेक्टर भूभाग कृषियोग्य छ । जसमध्ये ५३ हजार ७०८ हेक्टर भूमिमा धान खेती हुँदैआएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यसपालि मौसमले यसै गरी साथ दिइरहे साउन १५ गतेभित्र शत प्रतिशत धान खेतमा राेपाइँ सम्पन्न हुने अनुमान छ ।

‘यसपालि सुरुदेखि नै वर्षाले साथ दिएकोले हामी धान खेतीप्रति नै केन्द्रित भएका छौँ, यसैगरी असार २० गतेसम्म वर्षा भयो भने सिरहाको सबै खेतमा धान राेपाइँ भइसक्छ’, लहानका युवा कृषक शम्भु चौधरीले भन्नुभयो 'कोरोना सङ्क्रमणका कारण भएको लकडाउनले सम्पूर्ण व्यापार व्यवसाय ठप्प भएको थियो तर धान खेतीले केही भए पनि राहत देला जस्तो छ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?