logo
२०८१ मंसिर १५ शनिवार



किसानलाई धान रोप्ने चटारो

अर्थ |


किसानलाई धान रोप्ने चटारो


सिरहा समाचारदाता

सिरहा, असार १३ गते । प्रत्येक वर्षको असार १५ लाई रोपाइँ सुरु हुने दिनका रूपमा लिइन्छ तर असार १५ आउनुपुर्व नै सिरहामा यसपालि २० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।
यसपालि जेठको मध्यदेखि नै मौसमले साथ दिएर पानी परेपछि सिरहाका किसानले समयमै बेर्ना लगाई असारको पहिलो सातादेखि नै धान रोपाइँ सुरु गरेका छन् । वर्षाले खेतको गरा–गरामा पानी पुगेपछि सिरहाका किसानलाई अहिले धान खेतीको चटारो छ ।
विगतका वर्षमा वर्षाको अभावमा समयमा रोपाइँ गर्न नपाउने सिरहाका किसानले यसपालि वर्षाले साथ दिएपछि असारको पहिलो सातादेखि नै सबै काम छोडेर धान खेतीमै समय दिन थालेका छन् ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले सिरहाको २० प्रतिशत भूभागमा अहिले नै धानको रोपाइँ भइसकेको जानकारी दिनुभएको छ । साधारणतया असार १५ देखि रोपाइँ सुरु हुने यस क्षेत्रमा पानी पर्नेबित्तिकै किसानले असार १५ पनि पर्खदैनन्, केन्द्रका प्रमुख यादवले भन्नुभयो, सिरहाका अधिकांश भागमा सिँचाइको अभाव छ, त्यसैले आकाशले साथ दिनेबित्तिकै किसानको ध्यान धान खेतीतर्फ नै केन्द्रित हुने गर्छ ।
कुल एक लाख २२ हजार ७९७ हेक्टर भूभाग रहेको सिरहामा ७३ हजार ९१३ दशमलव पाँच हेक्टर भूभाग कृषियोग्य छ । जसमध्ये ५३ हजार ७०८ हेक्टर भूमिमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यसपालि मौसमले यसैगरी साथ दिइरहे साउन १५ गतेभित्र शतप्रतिशत धान खेतमा रोपाइँ सम्पन्न हुने अनुमान छ ।
यसपालि सुरुदेखि नै वर्षाले साथ दिएकोले हामी धान खेतीप्रति नै केन्द्रित भएका छौँ, यसैगरी असार २० गतेसम्म वर्षा भयो भने सिरहाको सबै खेतमा धान रोपाइँ भइसक्छ, लहानका युवा कृषक शम्भु चौधरीले भन्नुभयो, कोरोना सङ्क्रमणका कारण भएको लकडाउनले सम्पूर्ण व्यापार व्यवसाय ठप्प भएको थियो तर धान खेतीले केही भए पनि राहत देलाजस्तो छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?