logo
२०८१ मंसिर १३ बिहीवार



कर्णालीमा ३५ प्रतिशत रोपाइँ

अर्थ |


कर्णालीमा ३५ प्रतिशत रोपाइँ
तस्विर : फाइल


मुना हमाल

सुर्खेत, असार १४ गते । वर्षात सुरु भएसँगै कर्णालीमा किसानलाई राेपाइँ गर्न भ्याइनभ्याई छ । सिँचाइ उपलब्ध भएका अधिकांश ठाउँमा ठाउँहरूमा राेपाइँ सकिएको छ भने केही ठाउँमा चलिरहेको छ । आकाशे पानीको भरमा राेपाइँ गर्ने क्षेत्रमा बीउ राखिसकिएको छ । खेत तयार गर्न लागिएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार कर्णालीमा असारको मध्यतिर ३५ प्रतिशत राेपाइँ सम्पन्न भएको छ ।

निर्देशनालयका बागवानी अधिकृत यामबहादुर रानाले डोल्पामा शतप्रतिशत राेपाइँ सम्पन्न भइसकेको जानकारी दिनुभयो । जुम्लामा ९५ प्रतिशत राेपाइँ सम्पन्न भइसकेको छ । जुम्लामा चैतदेखि नै राेपाइँ गर्न सुरु भएको थियो । सुर्खेत र दैलेखमा समान १० प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा बढी धान खेती हुने वीरेन्द्रनगर उपत्यकामा किसानहरूले धान राेपाइँ गर्ने तयारी गरेका छन् ।

यस्तै, सल्यानमा ६५ प्रतिशत, जाजरकोटमा ६० प्रतिशत, कालिकोटमा २७ प्रतिशत, हुम्लामा ७० प्रतिशत, मुगुमा ६२ प्रतिशत, रुकुमपश्चिममा ६२ प्रतिशत राेपाइँ सम्पन्न भएकाे छ । कर्णालीमा ४९ हजार ४२५ हेक्टर जमिनमा धान खेती हुन्छ । अहिलेसम्म १७ हजार ५०६ हेक्टर जमिमा धान राेपाइँ भइसकेको निर्देशनालयको भनाइ छ । यसपटक वर्षा समयमै भएकाले पनि कृषकलाई राहत भएको छ । असारको महिना अधिकांश ठाउँमा रोपाइँ सम्पन्न हुने बागवानी अधिकृत रानाले बताउनुभयो । केही मकै लगाएको ठाउँमा साउनमा हुने देखिए पनि यस वर्ष असारमा अधिकांश ठाउँमा राेपाइँ सम्पन्न हुने उहाँको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?