डिलबहादुर सिंह
डोटी, साउन ३ गते । डोटीको बोगटान फुड्सिल गाउँपालिकाको कार्यालयनजिकै पुरानो चौतारो भत्काएर नयाँ बनाउने काम हुँदै थियो । झट्ट हेर्दा चौतारो निर्माणका लागि प्रयोग भएका ढुङ्गा आधुनिक ढुङ्गा काट्ने मेसिनले काटेर मिलाएका जस्ता देखिन्थे । आधुनिक रुपमा सिमेन्ट प्रयोग बिना नै आकर्षक देखिएका ती ढुङ्गाहरू स्थानीय व्यक्तिले ‘छिना’ले काटेर मिलाएका हुन् । निर्माण भइरहेको चौतारोमा मात्र होइन नजिकै बन्दैगरेको सार्वजनिक शौचालयमा समेत ढुङ्गालाई आकर्षक ढङ्गले काटेर प्रयोग गरिएको छ ।
बोगटान फुड्सिल गाउँपालिकाको चवाराचौतारा गाउँमा ढुङ्गालाई काटेर आकर्षक बनाउने काममा व्यस्त रहेकै समयमा भेटिनुभएका स्थानीय ४५ वर्षीय प्रकाशसिंह गड्सिलाले भन्नुभयो, ‘बाह्र वर्ष भयो, यही पेशामा रहेको, यो काममा हात हालेदेखि परदेश जानुपरेको छैन ।’ बाह्र वर्ष अघिसम्म घर खर्चको लागि भारत जाने गर्नुभएका प्रकाशले हाल आएर आफ्नो जस्तै ढुङ्गाको काममा गाउँका अन्य १०-१२ जनालाई समेत जोड्नुभएको छ । सँगै रहेका साथीहरूलाई देखाउँदै प्रकाशले भन्नुभयो, ‘यिनीहरू पनि मसँगै छन् काम सिकेपछि कामको अभाव भएको छैन, घर खर्चको लागि साहुसँग जानुपरेको पनि छैन । आफ्नो काम फर्केर हेर्दा आफैँलाई आनन्द लाग्छ र पेशा छोड्न सकेको छैन । ’
गाउँपालिकाको चवरा चौतारामा पछिल्लो समयमा निर्माण हुने भवन लगायतका संरचनामा यस्तै प्रकारका ढुङ्गा प्रयोग हुँदैआएका छन् । पछिल्लो समयमा ढुङ्गा काट्न बिजुलीबाट चल्ने आधुनिक मेसिन पनि आएका छन् । ढुङ्गा काट्ने मेसिन बजारमा आउनुभन्दा धेरै वर्ष अघिदेखि नै यहाँका स्थानीयले यसरी नै घरेलु औजारको सहायताले ढुङ्गा काट्दैआएका छन् । एउटै ढुङगालाई मिलाउन १५ देखि २० मिनेटसम्म लाग्ने गरेको अनुभव सुनाउँदै स्थानीय श्याम बोहराले भन्नुभयो, ‘हामीलाई त यही छिनाले ढुङ्गा काट्न सजिलो हुन्छ ।’
ढुङ्गाको काम गरेबापत सरकारी काम भए दैनिक आठ सय र व्यक्तिगत घर निर्माणका लागि भए छ सय रुपियाँ लिने गरेका छन् ।
बोगटान फुड्सिल गाउँपालिकामा मात्र पछिल्लो समयमा कोरोना सङ्क्रमणको त्रासका कारण भारतबाट काम गर्न भनी गएका एक हजार सात सय जना फर्किएका छन् । स्थानीय तहले समेत परम्परागत सीप र पेशालाई व्यवसायमुखी बनाउन पहल गरिरहेको जनाएको छ ।
सीप, पेशा र मागका आधारमा भारतबाट फर्किएकाहरूलाई समेत समेटेर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि स्वरोजगारमूलक कामका लागि बजेट विनियोजन गरिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष गड्सिलाले बताउनुभयो ।
स्थानीय स्तरमा रहेका परम्परागत सीप र पेशालाई आधुनिकतासँग जोडेर लैजान सके रोजगारी सिर्जना गर्न सहज हुने देखिन्छ ।