logo
२०८१ मंसिर १३ बिहीवार



कालो धान, ड्राइगनका पर्याय पूर्वपर्यटनमन्त्री विष्ट

अर्थ |
फिचर |


कालो धान, ड्राइगनका पर्याय पूर्वपर्यटनमन्त्री विष्ट


गोकर्ण पौडेल

तुलसीपुर, साउन ७ गते ।  पटक/पटक मन्त्री भइसकेका व्यक्तिको हातमा गैती, फरुवा, हँसिया, कैँची हुन्छ । अचेल भने उहाँलाई ड्राइगन फलेका कारण बिक्री वितरणमै व्यस्त हुनुहुन्छ । फर्ममा आएका व्यक्तिहरूलाई ड्राइगनबारे जानकारी दिने, सेल्फी खिच्ने, फल टिप्न नै व्यस्त हुनुहुन्छ । उहाँ आफूलाई पूर्व मन्त्रीभन्दा एउटा किसानका रुपमा चिनाउन चाहनुहुन्छ । पूर्वपर्यटनमन्त्री लोकेन्द्र विष्ट कालो धान र ड्राइगनको पर्यायजस्तै बन्नुभएको छ ।

कालो धानबाट किसानी यात्रा सुरु गर्नुभएका विष्ट अचेल ड्राइगन फल खेती विस्तारमा व्यस्त हुनुहुन्छ । केही गरौँ, नयाँ गरौँ भन्ने सोच छ विष्टसँग तर त्यसका लागि आवश्यक रकम र जमिन पाउन कठिन रहेको विष्ट बताउनुहुन्छ ।

ड्राइगन खेती विस्तारका कारण दुई वर्ष कालो धानको व्यावसायिकरुपमा अघि बढाउन सक्नुभएको छैन । यो वर्ष बीउका लागि मात्रै कालो धानको खेती गर्नुभएको छ भने आगामी वर्षदेखि पाँच सात बिगाहा क्षेत्रफलमै कालो धानको व्यवसायिकरुपमै खेती गर्ने योजनामा हुनुहुन्छ । कालो धानको चामलको बजार मूल्य प्रति केजी पाँच सय रुपियाँ रहेको छ । यता ड्राइगनको मूल्य भने प्रतिकेजी सेतोको सात सय र राताको आठ सय रहेको छ ।

पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्टले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मैरवामा ६४ कठ्ठा जग्गामा रोपेको ड्राइगन फ्रुट पहिलो लटमा फलेको फल धेरै जसो सेवाग्राही बोट मात्रै हेरेर फर्किए । फर्मबाट उत्पादन भएका फलले बजार नपाउला भन्ने चिन्ता नै नरहेको विष्ट बताउनुहुन्छ ।

‘पहिलो पटक पाकेको फल किन्न आउनभुएका धेरैजसो सेवाग्राही रित्तो हात फर्कनुभयो । अब भने रित्तो हात फर्कनुपर्दैन । पहिलाभन्दा दोस्रो चरणमा फल बढी छ विष्टले भन्नुभयो ।’ बन्दाबन्दीका कारण फर्मभित्र मजदुरबाहेक अन्यलाई प्रवेश निषेध गरिएको थियो । पहिलो पटक तीन क्विन्टल बिक्री भएको थियो भने दोस्रो पटक पनि डेढ क्विन्टल बिक्री गरिसकेको विष्ट बताउनुहुन्छ । सात हजार बिरुवामध्ये तीन हजार बिरुवाले फल दिन सुरु गरिसकेका छन् । एउटा बिरुवाले एक वर्षमा पाँच पटकसम्म फल दिने गर्दछ ।

लोकेन्द्र विष्टसहित तीन जनाको लगानीमा सुरु गरिएको फर्ममा कामअनुसार दैनिक पाँचदेखि २५ जनासम्म मजदुरले दैनिक ज्यालादारीमा काम गर्दैआएका छन् । पन्ध्र वर्षसम्म लिजमा लिएको जग्गाबाट उत्पादन भएको ड्राइगन फ्रुटबाट पाँच वर्षमा लगानी उठाउने र दश वर्षसम्म फाइदा लिने योजना बनाएको विष्ट बताउनुहुन्छ । वार्षिकरुपमा जग्गा लिजकाे तीन लाख भाडा रहेको छ ।

फल मात्रै होइन ड्राइगनका बिरुवासमेत बिक्री वितरण भइरहेका छन् । रातो प्रजातिकाे बिरुवाको मूल्य प्रति ओटा तीय सय रुपियाँ रहेको छ भने सेतोको प्रतिओटा मूल्य दुई सय रुपियाँ रहेको छ । हालसम्म चार हजार ड्राइगनका बिरुवा बिक्री भइसकेका छन् भने आठ हजार नर्सरीमै रहेका छन् । विष्टको ड्राइगन फर्ममा नेता, सांसद, जनप्रतिनिधि, किसान, विद्यार्थी, व्यापारी सबै पुगेकै हुन्छन् । सरकारले किसानलाई नगद अनुदान दिनुभन्दा संरचना, मल, बीउ दिनुपर्ने उहाँको धारणा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?