logo
२०८१ बैशाख १३ बिहीवार



नागरिक उड्डयन प्राधिकरणको वार्षिक कार्यक्रम : मुआब्जामै साढे चार अर्ब

अर्थ |


नागरिक उड्डयन प्राधिकरणको वार्षिक कार्यक्रम :  मुआब्जामै साढे चार अर्ब


विश्वास रेग्मी

काठमाडौँ, साउन २५ गते । चालू आर्थिक वर्ष २०७७÷७८ मा विमानस्थलहरूको निर्माण तथा क्षमता विस्तारका लागि अधिग्रहण गरिने जग्गामै ठूलो बजेट खर्च हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको चालू आवको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा साढे चार अर्ब रुपियाँभन्दा बढी रकम अधिग्रहण गरिएको जग्गाको मुआब्जामै खर्च हुने पाइएको हो ।
प्राधिकरणका अनुसार जग्गा अधिग्रहणबापत सबैभन्दा ठूलो खर्च गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुनेछ । सो विमानस्थलमा अधिग्रहणबापत मुआब्जा वितरणका लागि प्राधिकरणले दुई अर्ब १६ करोड ८३ लाख रुपियाँ विनियोजन गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्न अधिग्रहण गरिसकेको जग्गाका लागि चालू आवमा ८० करोड रुपियाँ मुआब्जा वितरणका लागि बजेट छुट्याइएको छ । प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि मुआब्जाकै लागि ७८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । निकै चर्चा पाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जग्गा अधिग्रहणबापत यस वर्ष बजेट राखिएको छ । प्राधिकरणले सो विमानस्थलको मुआब्जा वितरणमा २० करोड रुपियाँ विनियोजन गरेको छ ।
कतिपय आन्तरिक विमानस्थलको जग्गा प्राप्तिमा पनि प्राधिकरणले ठूलो लगानी गर्नुपर्ने देखिएको छ । ताप्लेजुङ, चन्द्रगढी, विराटनगर, रामेछाप, सुर्खेत, नेपालगञ्ज, धनगढी, जुम्ला, राजविराज र डोटी विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणबापत मुआब्जा वितरण गर्न प्राधिकरणले ६१ करोड रुपियाँ छुट्याएको छ । दाङको नारायणपुर विमानस्थल निर्माणका लागि पनि ५० लाख रुपियाँ मुआब्जा वितरण गर्ने प्राधिकरणको वार्षिक कार्यक्रममा समेटिएको छ ।

४१ अर्बको बजेट

चालू आवका लागि प्राधिकरणले ४१ अर्ब १२ करोड आठ लाख रुपियाँको बजेट तयार गरेको छ । यसमध्ये ठूलो हिस्सा पुँजीगततर्फ खर्च हुनेछ । प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको कार्यक्रमअनुसार ३० अर्ब ६४ करोड ४८ लाख रुपियाँ पुँजीगततर्फ खर्च हुनेछ ।
यसबाहेक कर्मचारीसम्बन्धी खर्च र अन्य कार्य सञ्चालनका लागि तीन अर्ब रुपियाँभन्दा बढी खर्च हुने प्राधिकरणको अनुमान छ । बजेटको स्रोतका रूपमा ऋण÷सेयर÷अनुदानलाई प्रमुख मानिएको छ । जसबाट करिब २१ अर्ब रुपियाँ स्रोत जुटाउन सकिने प्राधिकरणको अनुमान छ । १० अर्ब बैङ्क मौज्दात पनि प्राधिकरणको बजेट स्रोतको मुख्य हिस्सा रहेको छ ।
त्यसपछि आम्दानीतर्फ दुई अर्ब सात करोड, विमानस्थथल शुल्कबाट ६० करोड, सरकारलाई बढी भुक्तानी भएर फिर्ता पाउनुपर्ने एक अर्ब २६ करोड, पेस्की मौज्दात पाँच अर्ब ३८ लाख रुपियाँलाई प्राधिकरणले बजेट स्रोतको आधार मानेको छ ।

निजगढमा रुख काट्नलाई पनि बजेट

रुख कटानको विषयलाई लिएर केही समय विवादमा परेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा सोही शीर्षकका लागि चालू आवमा बजेट छुट्याइएको छ । उक्त विमानस्थल निर्माणका लागि एक हजार नौ सय हेक्टर क्षेत्रफलमा रुख कटान तथा ‘साइट क्लियरेन्स’का लागि तीन करोड रुपियाँ बजेट प्राधिकरणले विनियोजन गरेको छ । सोही विमानस्थलको चारैतर्फ सडक निर्माणका लागि पाँच करोड रुपियाँ बजेट पनि विनियोजन भएको छ ।

बुटिक विमानस्थललाई छुट्टै बजेट

मौलिक संस्कृति झल्काउने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रूपान्तरण गर्न २८ करोड रुपियाँ बजेट राखिएको छ । उक्त बजेटबाट क्यानोपी निर्माण तथा आन्तरिक टर्मिनल भवन निर्माण गरिने प्राधिकरणले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै धावन मार्गको उत्तरतर्फ एप्रोन तथा प्यारलल ट्याक्सी वे निर्माणका लागि एक अर्ब ९१ करोड रुपियाँ बजेट विनियोजन भएको छ । सोही विमानस्थलको धावन मार्गको दक्षिणतर्फ प्यारलल ट्याक्सी वे निर्माणका लागि एक अर्ब ४६ करोड र टर्मिनल भवन विस्तार तथा स्तरोन्नतिका लागि ४० करोड रुपियाँ बजेट पनि विनियोजन भएको छ ।

पोखरालाई सबैभन्दा बढी बजेट

छोटो समयमै धेरै भौतिक प्रगति हासिल गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चालू आवमा सबैभन्दा बढी बजेट पाउने भएको छ । निर्माण सम्पन्न पूरा गरेर यसै वर्ष सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त विमानस्थलको भवन तथा धावन मार्ग निर्माणका लागि १० अर्ब २५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्म ६२ प्रतिशत भौतिक प्रगति भएको अवस्था छ ।

गौतमबुद्ध विमानस्थल यसै वर्ष

गत आवमै व्यावसायिक उडान सुरु गर्ने लक्ष्य राखिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चालू आवमा सञ्चालन गर्ने लक्ष्य प्राधिकरणको छ । कोभिड–१९ सङ्क्रमणका कारण उपकरण जडानलगायत विश्वभर नै उडान प्रभावित भएपछि उक्त विमानस्थलको निर्माणको काम केही समय रोकिएको थियो ।
विमानस्थल निर्माण सम्पन्न गरेर यसै वर्ष सञ्चालनमा ल्याउने गरी प्राधिकरणले आफ्नो कार्यक्रममा समावेश गरेको छ । उक्त विमानस्थलको धावन मार्ग तथा टर्मिनल भवन निर्माणका लागि चालू आवमा तीन अर्ब २८ करोड रुपियाँ बजेट विनियोजन भएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?