सिराज खान
नेपालगञ्ज, भदौ ३ गते । कोरोना भारइरस नियन्त्रणका लागि अनिवार्य गरिएको मास्क नलगाउने र जोर बिजोर प्रणाली उल्लङ्घन गर्ने १७ सयलाई बाँकेमा कारबाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोभिड १९ सङ्कट व्यवस्थापन समिति बाँकेले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जिल्लाभरि मास्क लगाउन र जोर बिजोर प्रणालीअनुसार गाडी चलाउन अनिवार्य गरिए पनि सो को उल्लङ्घन बढ्दै गएपछि कारबाही गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी सुवास खड्काले मास्क नलगाउने र जोर बिजोर अनुसार सवारी साधन नचलाउने एक हजार ६९० जनालाई कारबाही गरेर तीन लाख १९ हजार ७०० जरिवाना असुल गरिएको बताउनुभयो ।
डीएसपी खड्काका अनुसार बाँकेमा हालसम्म मास्क नलगाउने ६९३ जनालाई कारबाही गरिएको छ भने जोर बिजोर उल्लङ्घन गर्ने ९९७ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कारबाही शुरु गरिएपछि नेपालगञ्ज, कोहलपुर र राँझालगायत ठाउँमा अधिकांश सर्वसाधारणले मास्क लगाउने गरेको र जोर बिजोर प्रणालीबाटै सवारी साधन चलाउन थालेको पाइएको बताउनुभयो ।
उहाँका अनुसार स्थानीयले स्वास्थ्यसम्बन्धी सुरक्षा नअपनाई जताततै हिँड्डुल गरेको पाइएकाले मास्क नलगाउनेलाई एक सय रुपियाँ जरिवाना र जोर बिजोर अनुसार सवारी साधन नचलाउनेबाट पाँच सयदेखि एक हजार रुपियाँसम्म जरिवाना लिन थालिएपछि अवस्थामा सुधार आएको हो ।
यसैबीच, स्वास्थ्य सुरक्षा पालना गरेको नगरेको बारे अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयले एक टोली अहिले नेपालगञ्जमा परिचालन गरेको छ ।
सो टोलीले पसल पसलमा गएर मास्क नलगाएको वा सेनिटाइजर प्रयोग गरेको नपाएमा पसलमा तालाबन्दी गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले गत दुई दिनको अवधिमा स्वास्थ्य सुरक्षा नअपनाउने नेपालगञ्जका छ वटा पसलमा तालाबन्दी गरिएको बताउनुभयो ।
उहाँले पहिलो पटकमा एक दिनका लागि ताला लगाएर अर्को दिन खोलिने जनाउँदै दोस्रो पटक फेला परेमा सात दिनका लागि ताला लगाउने गरिएको बताउनुभयो ।